काठमाडौं । प्रदेश नम्बर १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गर्ने भएको छ । ‘कोसी’ प्रदेश नामकरण खारेजीको माग गर्दै आएको समितिले आज पत्रकार सम्मेलन गर्न लागेको हो ।
समितिका अनुसार सोमाबार (आज) दिनको २ बजे काठमाडौंको अनामनगरस्थित तमु बौद्धसेवा, समितिको भवनमा पत्रकार सम्मेलन हुनेछ ।
फागुन १७ गतेको प्रदेशसभाले दुई तिहाइभन्दा बढी बहुमतका आधारमा प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित भएका छन् । पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गरेको २ महिनब भन्दा बढी भइसकेको छ । तर, सरकारले भने आजसम्म आन्दोलनकर्मीहरुलाई वार्तामासम्म बोलाएको छैन ।
कोसी प्रदेशविरुद्ध आन्दोलन गर्ने क्रममा चैत ५ गते विराटनगरमा भएको बृहत आन्दोलनको क्रममा घाइते भएका ४२ वर्षीय पदम लिम्बू ‘लाजेहाङ’ले सहादत प्राप्त गरिसकेका छन् । १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको उनलाई सरकारले सहिद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेपछि मृत्यु भएको १ महिनापछि उनको अन्त्येष्टि गरिएको थियो ।
यति धेरै भइसक्दा पनि सरकारको तर्फबाट कुनै पहल नगरिनु पहिचानवाीहरुलाई राज्यको तर्फबाट अपमान गरिनु पहिचान पक्षधरहरुको ठम्याइ छ । यस बीचमा आजको पत्रकार सम्मेलनलाई महत्वपूर्ण रुपमा लिइएको छ ।
