November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास सार्वजनिक

1.9K

काठमाडौँ । साहित्यकार विजय हितानको ‘लाहुरेको रेलिमाई’ उपन्यास सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार आयोजित समारोहमा समालोचक प्राध्यापक गोविन्दराज भट्टराई, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमी, सञ्चारिका समूहकी अध्यक्ष तथा साहित्यकार विमला तुम्खेवा, लेखक राजकुमार बानियाँलगायतले उक्त उपन्यास लोकार्पण गरेका हुन् । यो उपन्यास नेपाली गीतसंगीतका धरोहर मानिएका मास्टर मित्रसेन थापामगरको जीवनकथामा आधारित छ ।

उपन्यास कृतिबारे बोल्दै समालोचक भट्टराईले नेपाली साहित्यमा युद्ध साहित्य विधामा रचित प्रथम विश्वयुद्धका योद्धाको जीवनमा आधारित पहिलो औपन्यासिक कृति भएको बताए । कृतिबारे कवि विमला तुम्खेवा, लेखक राजकुमार बानियाँलगायतले चर्चा गरेका थिए ।

‘यो उपन्यास ८० प्रतिशत मास्टर मित्रसेनको यथार्थ जीवनवृत्त र बाँकी साहित्यिक कल्पनामा आधारित छ,’ उपन्यासकार हितानले भने, ‘मित्रसनबारे उपन्यास लेख्छु भनेर सन् २०१५ देखि छ वर्ष निरन्तर अनुसन्धान गरेको छु । मित्रसेनको पुख्यौली थलो पर्वतदेखि जन्मथलो भारतको भाग्सु धर्मशालासम्म, मित्रसेनबारे भारतीय लेखकका पुस्तकदेखि नेपाली लेखक तथा विद्यावारिधि शोधार्थीसम्म, बेलायत, बेल्जियम र फ्रान्समा रहेका युद्ध स्मारक, युद्ध संग्रहालयहरू चहारें । परिवारजनदेखि मास्टर मित्रसेन सिञ्जाली थापामगर प्रतिष्ठानसम्म सम्पर्क गरेर अनुसन्धान गरेर यो आख्यान तयारी भई प्रकाशनमा आएको हो ।’

Advertisement

को हुन् मास्टर मित्रसेन ?
मास्टर मित्रसेन (१८९५ डिसेम्बर २९–१९४६ अप्रील ६) नेपाली संगीत क्षेत्रमा लोकगायक, कवि, नाटककार, निबन्धकार, गीतकार र संगीतकारका रूपमा चिनिन्छन् । मित्रसेनले गाएको ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..’ गीतलाई नेपाली समुदायमाझ चर्चित छ ।

मित्रसेन १÷१ गोर्खा राइफलका सैनिक थिए । प्रथम विश्वयुद्ध लड्न उनलाई उत्तरी फ्रान्स अनि मेसोपोटामिया (इराक र सिरिया) लगिएका थिए । युद्ध रोकिएपछि निवृत्त भएर उनले नेपाली संगीत, साहित्य र समाजसेवामा बाँकी जीवन समर्पित गर्दै भारत र नेपालका विभिन्न स्थानमा पुगेका थिए । उनको योगदानलाई लिएर भारत सरकार र नेपाल सरकारले ‘मास्टर मित्रसेन’को हुलाक टिकट प्रकाशन गरेको छ ।