November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बुद्धजयन्ती धुमधामका साथ मनाइँदै, किरात पर्व सडकमा

3.5K

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशीला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामनाका साथ मनाउने गरिएको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

Advertisement

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को विशेष समारोहका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको छ । यसका लागि लुम्बिनीलाई झकिझकाउ बनाइएको छ ।

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा दिवसको मूल समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराँतीलगायतले सम्बोधन गर्ने प्रचार प्रसार उपसमितिका संयोजक एवम् कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले जानकारी दिए ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्मिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्केका थिए ।

उभौली तथा यक्वा तङ्नाम सडकमा
राईहरुको संस्था किरात राई यायोक्खा, लिम्बूहरुको संस्था किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा तथा सुनुवार सेवा समाजलगायत संस्थाहरूले बुद्धपूर्णिमा साकेला उभौली, यक्वा तङ्नाम, श्याँदर पिदर, युच्याङ, चासुवा, भूम्या, भुमेलगायतका चाड मनाउने गर्दछन् । उक्त चाडलाई यस पटकको किरात चाड साकेला/उभौली आन्दोलनको रूपमा मनाउने जनाएको छ ।

साकेला सिली, च्याब्रुङ लगायतका नाच काठमाडौंमा नयाँ वानेश्वरदेखि माइतिघरमण्डलाको सडकमा र काठमाडौं उपत्यका बाहिर शहरको प्रमुख चोक–चोकमा, जिल्लाको सदरमुकाममा र विदेशको हकमा कार्यक्रम स्थलहरूमा नाचिने छ ।

एकल नश्लिय राज्यले यो देशको सांस्कृतिक विविधता, प्राचीन सभ्यता, ऐतिहासिक भूगोलसहितको पहिचानलाई नामेट गर्ने धृष्टता ग¥यो, यसविरुद्ध हामी २ महिनादेखि सडकमा आन्दोलित छौँ, तर राज्यले कानमा तेल हालेर बसेको छ ।’ यसअघि टुँडिखेलमा यस चाडलाई मनाइदै आएकोमा सडकमा आउनुको कारण यायोक्खाका जीवन हाताचो राईले सञ्चारकर्मीसँग बताएका छन् ।

कोशी प्रदेश नाम खारेज गरि पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गरिनुपर्ने पहिचान पक्षधरहरूको माग छ । गत चैत ५ गते विराटनगरमा पुनः नामकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।

बुद्धजयन्ती तथा विभिन्न पर्वहरूको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्रीहरूलगायतले शुभकामना सन्देश दिएका छन् ।