विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले छुवाछूत र विभेदविरुद्धको अभियानलाई एउटा आन्दोलनको रूपमा बुझ्नपर्ने बताएका छन् ।
बुधबार विराटनगरमा आयोजित ‘न्याय समानताको लागि दलित महिलाहरुको प्रदेशस्तरीय सम्मेलन’ कार्यक्रमलाई उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले सो कुरा बताएका हुन् ।
खापुङले अगाडि भने –“समस्या छ, समस्या छ भनेर राज्य पन्छिन मिल्दैन । यो समस्या उनीहरुको मात्रै हो भन्ने बुझाइ राखियो भने समाज पक्ष र विपक्षमा बाडिन्छ । समाज, धर्म, जाती र समुदायको पक्ष र विपक्षमा बाँडियो भने द्वन्द्व हुन्छ । यसले एकता कायम हुदैन । राष्ट्र बलियो हुदैन । त्यसकारण यो समस्यालाई सबैको साझा समस्याको रुपमा लिनुपर्छ ।”
नेपालको संविधान नियम र कानुनले छुवाछूत लाई बर्जित गरेको तर अक्षरस पालना गराउन नसकिएकोले समस्या बल्झिरहेको बताउँदै प्रदेश प्रमुख खापुङले भने –“व्यवहारिक रुपमा कानुनको पालना गराउन सकियो भने यो समस्याको समाधान हुन्छ ।”
साथै प्रदेश प्रमुख खापुङले यस र संविधान, नियम र कानुनको परिधिभित्र रहेर आफ्नो तर्फबाट पुर्णरूपमा सहयोग रहने प्रतिबद्धता पनि गरेका छन् ।
कार्यक्रममा स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू र दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा सोवले पनि मन्तव्य राखेका थिए ।
