विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङले श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो रहेको बताए । १३४औं श्रमिक दिवसको शुभकामना दिँदै खापुङले यस्तो अभिव्यक्ति दिएका हुन् ।
शुभकामना विज्ञप्ति जारी गर्दै खापुङले भनेका छन्, ‘कृषिलाई श्रमसँग र शिक्षालाई उत्पादनसँग जोड्दै उपलब्ध स्रोतहरूको उच्चतम् एवं दिगो प्रयोग गरी श्रमिक मजदुरका लागि अवसर सुनिश्चित गर्न साझा संकल्पको खाँचो छ ।’
प्रदेश प्रमुख खापुङले नेपाली समाजको अग्रगामी परिवर्तनका लागि श्रमिक मजदुर वर्गको योगदान एवं बलिदानको स्मरण गर्दै उनीप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
