दमक । झापामा नेकपा एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष सुवास नेम्बाङविरुद्ध प्रदर्शन गरिएको छ । नेकपा एमाले बुद्धशान्ति गाउँकमिटीद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमका लागि झापाको बुद्धशान्ति पुगेका अध्यक्ष र उपाध्यक्षविरुद्ध पहिचान पक्षधरहरले विरोध प्रदर्शन गुर्नका साथै उनीहरु सवार गाडीमा आक्रमण गर्ने प्रयास गरेका हुन् ।
किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेफुङ फियाकका अनुसार बुद्धशान्तिको बुधबारेमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अवरोध गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडपसमेत भएको छ । झडपमा एक प्रहरी घाइते भएका छन् भने एक आन्दोलनकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा संघीय लिम्बुवा पार्टीका केन्द्रीय उपाध्यक्ष मित्र रहेका छन् ।
करिब २ सय जनाको संख्यामा पहिचान पक्षधरहरु बिरोध कार्यक्रममा उपस्थित थिए । कार्यक्रमभित्रै भने अवरोध गर्न नसकिएको अध्यक्ष फियाकले जानकारी दिए । ‘व्यापक सुरक्षाका साथ कार्यक्रम गरिएको हुँदा कार्यक्रम हलभित्र प्रवेश गरी कार्यक्रममा अवरोध गर्न सकिएन । उनीहरुकै मान्छेलाई पनि चेकजाँच गरिकन मात्रै प्रवेश गराए ।’, अध्यक्ष फियाकले भने, ‘डर त भयंकर रहेछ, सधैं डरमा बस्नुभन्दा हाम्रो मागलाई सम्बोधन गरियोस् ।’
आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर्’, ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए ।
शान्पिूर्ण आन्दोलनमा युवा संघ परिचानल गरिएको कियाचुका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बताए । ‘शान्तिपूर्ण आन्दोलनमा एमालेले युवा संघ परिचालन गरेर दोहोरो भिडन्त निम्त्याएको छ ।’,उनले भने ।
कियाचु अध्यक्ष येक्तेनले आजको आन्दोलनमा पक्राउ परेका मित्र लिङ्देनलगायतलाई तुरुन्त रिहाइ गर्न माग गरेका छन् । यस्तै, उनले केपी ओलीको सबै कार्यक्रममा अवरोध गरिने जानकारीसमेत दिएका छन् । ओली भोली दिउँसो ११ बजे इलामको सिटिहलमा पार्टीको कार्यक्रम उपस्थित हुनेछन् भने १५ गते दिउँसो १२ः३० बजे तेह्रथुमको आठराईमा सिटिइभिटीद्वारा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रममा उपस्थित हुनेछन् । सोही दिन दिउँसो २ः३० बजे आठराई, सुकेमा खानेपानी आयोजनाको शिलान्याश कार्यक्रममा उपस्थित हुनेछन् । यसैगरी १६ गते बिहान पाँचथरका कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेको छ ।
यी सबै कार्यक्रममा शान्तिपूर्ण अवरोध प्रदर्शन गरिने कियाचु अध्यक्षले जानकारी दिए ।
फागुन १७ गतेको प्रदेशसभाले दुई तिहाइभन्दा बढी बहुमतका आधारमा तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित भएका छन् । पहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने र कोसी नाम खारेज गर्नुपर्ने माग आन्दोलनरत पक्षको छ ।
कोसी प्रदेशविरुद्ध आन्दोलन गर्ने क्रममा चैत ५ गते विराटनगरमा भएको बृहत आन्दोलनको क्रममा घाइते भएका ४२ वर्षीय पदम लिम्बू ‘लाजेहाङ’को १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भयो । सरकारले लाजेहाङलाई सहिद घोषणा गर्ने र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेपछि मृत्यु भएको १ महिनापछि गत शनिबार उनको अन्त्येष्टि गरिएको छ ।
