काठमाडौं । कविताको रियालिटी शो ‘द पोयट आइडल सिजन–१’ को विजेता सिक्किमकी नीलम गुरुङ भएकी छिन् । अन्य तीन सशक्त कविहरुलाई पछि पार्दै गुरुङ विजयी बनेकी हुन् ।
विजेता बनेसँगै उनले १० लाख नगद पुरस्कार, यात्रा पब्लिकेशनबाट ५ लाख मूल्य बराबरको पुस्तक प्रकाशन कन्ट्रयाक पाएकी छन् ।
एपिवान टेलिभिजनबाट प्रसारण भएको कविता रियालिटी शो ‘पोएट आइडल’ ३३ भागसम्म संचालन भएको थियो । जसको ग्राण्ड फिनाले शुक्रबार साँझ भएको हो ।
दर्शक तथा स्रोताको भोट र निर्णायकको निर्णयको आधारमा चार जना कवि ग्राण्ड फिनालेमा पुगेका थिए । पल्लविव, निलम गुरुङ, नाथन रायान र मिल्सन राई फिनालेमा पुगेका थिए । जसमध्ये ‘कसरी लेखौँ म आफ्नै कविता जब म आफ्नै देशमा विदेशी छु’ कविताबाट वाहवाही पाएकी गुरुङले बाजी मारेकी छन् ।
यस रियालिटी शोका निर्णायकहरु बिप्लव प्रतिक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त रहेका थिए ।