November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

लाजेहाङको शव अन्त्येष्टि बैशाख ९ मा, १० लिम्बुवान १७ थुमको परम्परा अनुसार गरिने

1.6K

काठमाडौं । पहिचान प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका ४२ वर्षीय पदम लिम्बू लाजेहाङको शव अन्त्यष्टि गरिने भएको छ । मंगलबार बसेको प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति (समन्वय समिति) ले उनको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

समितिको भर्चुअल बैठकले सहिद लिम्बूको परिवारजनसँग सवन्वय गरी उनको पार्थिव शरीरलाई बैशाख ९ गते १० लिम्बुवान १७ थुमको परम्परा अनुसार अन्तिम श्रद्धान्जलि अर्पणसहित मोरङको बेलबारीमा अन्त्यष्टि गर्न लागिएको छ ।

उनको शव यात्रा बैशाख ९ गते विहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरेर सुरुवात गरी ११ बजे इटहरीमा श्रञ्द्धाञ्जली अर्पण गर्नेर १२:३० बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेश सभा परिक्रमा गराउँदै २:३० बजे सहिद लाजेहाङको घरबेलबारी पुर्याउने र ४ बजे शवको अन्तिम संस्कार गर्ने संघर्ष समितिले जनाएको छ।

Advertisement

बैठकपछि जारी बिज्ञप्तिमा बैशाख १० गते इटहरीमा र वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने समेतनिर्णय भएको छ ।

नेपालको सङ्घीयता कार्यान्वयन पछि प्रदेश नम्बर १ को नामाकरण पहिचानका आधारमा हुनुपर्ने मागसहित आन्दोलन र जनप्रदर्शनगर्ने क्रममा लिम्बूलाई गत चैत ५ गते बिराटनगरमा प्रहरीको लाठीले टाउकोमा लाग्दा उनी गम्भीर घाइँते भएका थिए । लिम्बूको धरानस्थित विपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचारका क्रममा चैत १० गते निधन भएको थियो ।

उनलाई नेपाल सरकारले सहिद घोषणा गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति वापत १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

यसैबीच, प्रदेश नम्बर १ को नामाकरण प्रदेश सभाले गत फागुन १७ गते बहुमतको आधारका कोशी प्रदेश राख्ने निर्णय गरेपछि पहिचान पक्षधर संघसंस्था र राजनीतिक दलहरु निरन्तर कोशी नाम खारेज र पहिचानको आधारमा पुन: नामाकरण गराउन दवावदिने भन्दै आन्दोलनमा छन् ।

आन्दोलनकारीहरुले प्रदेश राजधानी बिराटनगर केन्द्रित जनप्रदर्शन जारी राखेका छन् । सो क्रममा थुप्रैपटक आन्दोलनकारी र प्रहरीबीच झडप हुनुका साथै आन्दोलन साम्य पार्न भन्दै प्रहरीले दर्जनौं अश्रु ग्यास, गोली प्रहार र पानीको फोहराले प्रहार गर्दै आएको छ ।

त्यस्तै जिल्ला र पालिकास्तरमा गठित संयुक्त संघर्ष समितिहरुले पालिका र वडा कार्यालयहरु तालाबन्दी गर्ने, कोणसभा र राँकेजुलुश गर्ने, चक्काजाम, कोशी प्रदेश लेखेको होडिङ बोर्ड मेट्ने, छाप जलाउने जस्ता विरोध कार्यलाई निरन्तरता दिएका छन् ।