काठमाडौं । यस वर्षको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ चीनको बेइजिङमा पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ । पुरस्कार आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रदान गरिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्दै आएको यस पुरस्कारको राशी नगद २ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताए । यस्तै, लेखक आचार्यले आफूले ७ वर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताए ।
समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राखेका थिए ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालकै पहिलो गैरआवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपाल–नेपालीको पहिचानलाई थप बढाएको बताए । यस्तै, कार्यक्रममा एनआरएनए अर्का अध्यक्ष कुल आचार्यले सम्मानित व्यक्तित्वलाई बधाई दिदै राष्ट्रपतिप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रममा सचिव गोबिन्द गौतम, अमेरिका क्षेत्रका संयोजक रामसिं पोखरेल, एनसीसी रसिया अध्यक्ष शिवमणी भुर्तेल, निर्मला अधिकारी (चीन), देवेन्द्र भट्टराई (कान्तिपुर दैनिक), रमेश पौडेल (रेडियो नेपाल), रमेश दाहाल, भगवती बस्नेत (इजरायल), दीपक कर्ण (नाइजेरिया), नरेश कोइराला (क्यानडा), जीवन बम (अमेरिका), प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी लगायतको उपस्थिति थियो ।
पुरस्कृत उपन्यासमा धादिङको रुबी उपत्यकामा जन्मिएकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र ति युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर लेखिएको छ ।