November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कवि प्रकाश दिप्साली राईको ‘त्यो तिम्रो मनमा’ सार्वजनिक

2.2K

विराटनगर । बराहक्षेत्रमा लामो समयदेखि कविता लेखनमामा समर्पित कवि प्रकाश दिप्साली राईको गीत ‘त्यो तिम्रो मनमा’ सार्वजनिक भएको छ । भिडियो शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

स्वर्णिम साहित्य समाज, बराहक्षेत्र -३ को आयोजना रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदीप लामा रहेका थिए । गीतलाई प्रमुख अतिथिले ‘प्ले’ गरेर सार्वजनिक गरेका हुन् ।

बराहक्षेत्र नगरपालिकामा रहेर निरन्तर कलमको साधना गरिरहेका प्रकाश दिप्साली राईको सो गीतमा सुगम सङ्गीतका धरोहर प्रख्यात गायक स्वरुपराज आचार्यले सुमधुर स्वर भरेका छन् । सो गीतमा गायक तथा सङ्गीतकार रामबाबु राईले सङ्गीत भरेका छन् । यस्तै मिक्सिङ एरेन्ज यो समयका प्रख्यात एरेन्जर राजु कार्कीले गरेका छन् । किङ्स स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा सुरेश राईले रेकर्डिङको भुमिका निर्वाह गरेका छन् । जेस्केलो क्रिएसनले स्टुडियो भिडियो तयार पारेको छ ।

Advertisement

सो गीत सार्वजनिक पश्चात् आफ्नो कुरा राख्दै निक्कै भावुक देखिएका गीतकार दिप्सालीले भने, ‘सपनाहरु देख्दै जानुपर्ने रहेछ । मरिएन छ भने पूरा हुँदै जाने रहेछ । आज मैले कुनै दिन देखेको सपना पूरा भएको छ । आफू काममा विश्वास गर्ने भएकाले मलाई सफलता असफलताले आजसम्म फरक पारेन ।’ ‘म सिर्जनामा विश्वास राख्ने मान्छे हुँ, यो समाज र सिर्जनाले दिएको जिम्मेवारी पूरा गर्न म र मेरो सस्था सदा कटिबद्ध छ । स्वर्णिम साहित्य समाजको अक्षयकोष अभियानमा जोडिएर साथ दिन सबैलाई अनुरोध गर्दछु । हामी बराहक्षेत्रको नामलाई उचाइमा पुराउन चाहन्छौं ।’, उनले थपे ।

कार्यक्रममा बोल्दै गायक निरज राईले दिप्सालीको गीत लेखनले आफू प्रभावित भएको समेत बताए ।

सोही अवसरमा स्थानीय रचना वाचनको कार्यक्रम राखिएको थियो । सो कार्यक्रममा दर्जन बढी सर्जकले आफ्नो सिर्जना प्रस्तुत गरे । प्रकृती राई, शारदा निरौला ‘शारु’, सुर्य तामाङ, रविन्द्र केदेम, सविता फागो, बिमला श्रेष्ठ, वर्षा भण्डारी, दीपा मग्राती, सूर्य बस्नेत, छबिलाल चौधरी, लक्ष्मण कटुवाल लगायतले आफ्नो रचना प्रस्तुत गरे ।

यस्तै कार्यक्रमका विशेष अतिथि बेलायतबाट आएका पर्यावरणीय कवि बिजय हितानले मनसुन जस्ता शक्तिशाली कविता सुनाएका थिए । कार्यक्रमका विशेष कवि दिलिप बान्तावाले ‘नयाँ बर्ष’ र ‘रगत माग्ने देशको नाममा’ जस्ता शक्तिशाली कविता प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा आफ्नो सदस्य मनोज विष्ट चक्रघट्टी जेसिसको कला साहित्य विभाग प्रमुखमा नियुक्त भएकोमा गौरवान्वित महसुस गर्दै बधाई ज्ञापन समेत गरिएको थियो ।

सभाध्यक्ष र प्रमुख अतिथिले अबिर टिकाले विष्टलाई सम्मान गरेका थिए । स्थानीय रचनाहरु माथी बोल्दै वक्ता प्राध्यापक इन्दिरा महर्षीले स्वर्णिम साहित्य समाजले आजैबाट स्वर्णिम भविष्यको सङ्केत गरेको बताइन् । ‘आजका यी साना नानीहरुलाई यो समाजले स्थान दिनु भनेको भोलिको यो समाज हाक्ने जनशक्ति जन्माउनु हो । आजको रचनाहरुप्रति मेरो सम्मान छ ।’ महर्षीले भनिन् ।

यस्तै कार्यक्रमका प्रमुखअतिथि बराहक्षेत्र -३ का वडाअध्यक्ष राजदीप लामाले स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ को त हो नै अझ यो नगरपालिकाको अमुल्य सम्पत्ति रहेको बताए । यो सम्पत्तिलाई अझ धनी बनाउन यो वडा सदा लागिपर्ने बताए । कार्यक्रममा कल्याण विष्ट, पूर्व वडाध्यक्ष रुद्र दाहाल र बिजय हितानले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका सचिव लक्ष्मण कटुवालले सन्चाल गरेको सो कार्यक्रममा स्वागत मन्तव्य समाजका सहसचिव सविता फागोले राखेकी थिइन् भने सभाअध्यक्ष समाजका उपाध्यक्ष शरण लिम्बु रहेका थिए ।