दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदानसहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व एवं कतारस्थित नेपाली कुटनीतिक नियोगका महामहिम राजदुत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपालका राष्ट्रिय सभा सदस्य खालिद महमद, एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, युवा उपाध्यक्ष राज रेग्मी, सचीव प्रविण गुरुङ, एनआरएनए आइसिसी पूर्व उपाध्यक्ष तथा संस्थापक सदस्य सागर नेपाल, नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलि, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भन्डारी, नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलि, प्रवासी नेपाली मन्च कतारका अध्यक्ष प्रभात त्रिपाटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कतारमा स्थापित संघ–संस्थाका प्रतिनिधिसँगै फिलिपिन्स, पाकिस्तान, भारत लगायत देशका समुदायका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो ।
मौलाना खालिक कास्मिकले रमजान महिनाको महत्त्वको बारेमा जानकारी गराएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष जेबि राई र संचालन महासचिव पदम गिरिले गरेका थिए ।