न्युयोर्क । आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले नेपालमा आदिवासीहरूप्रति राज्यले दमन गरिरहे गृहयुद्ध हुन सक्ने चेतावनी दिएको । प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिनु भूमिपुत्रहरूको विरुद्ध भएको भन्दै यसले पहिचानको धज्जी उडाएको फिवनाले यसको परिणाम भयानक हुन सक्ने चेतावनी दिएको हो ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘प्रदेश नं १ का जनताहरुको मागलाई बेवास्ता गर्दै प्रदेश सरकारले निरंकुश सोचलाई अघाडी ल्याएको छ, कोशी नामाङकन गरेको छ । यो प्रदेश नं १ का भूमिपुत्रहरूको विरुद्धमा छ ।यसले पहिचानको धज्जी उडाएको त छ नै, नेपालको संविधान २०७२ लाई अपहेलनासमेत गरेको छ।’
उक्त कोशी प्रदेश नामाकरण विरुद्धको शान्तिपूर्ण आन्दोलनमा सत्तापक्षको निरंकुश दमनबाट लाजेहाङ लिम्बुले सहादत प्राप्त गरिसक्दा पनि संघीय सरकारले रमिता हेरेर बसेको महासंघकी अध्यक्ष इन्दिरा चोङ्बाङ्ले बताइन् । ‘यस्तै आदिवासीहरुप्रति राज्यले दमन गरिरहने हो भने भोलिका दिनमा गृहयुद्ध निम्तिन नसक्ला भन्न सकिन्न, जसको परिणाम भयानक हुनेछ ।’, अध्यक्ष चोङ्बाङ्ले चेतावनी दिइन् ।
प्रदेश १ लाई कोशी नामकरण गरिनु सभासदहरूले आफूले गरेको बाचाविपरित रहेको फिवानाको ठहर छ । ‘निर्वाचनअघि प्रदेश नं. १ का जनताहरुसँग नेता तथा सभासदहरुले गरेका बाँचाविपरित कोशी प्रदेश नामाकरण गरिएको कारण प्रदेश १ पुरै आन्दोलित छ। वास्तवमा कोशी प्रदेश नामाकरण संविधानको मर्म विपरित छ । साथै, सिङ्गो प्रदेशका जनभावना विपरित पनि छ। उक्त भूमिमा परापूर्वकालदेखि नै बसोबास गर्दै आएका भूमिपुत्र आदिवासीहरुको आवाजलाई राज्य सत्ताले सधैं उपेक्षा गर्दै आएको हुँदा त्यसैलाई निरन्तरता दिँदै प्रदेश सरकारले कोशी प्रदेश नामाकरण गरेको छ ।’, विज्ञप्तिमा भनिएको छ ।