काठमाडौं । कोसी नामकरण खारेजीको माग गर्दै भइरहेको आन्दोलनलाई सरकारले दमन गरेको भन्दै जनता समाजवादी पार्टी नेपाल (जसपा)को गम्भीर ध्यानाकर्षण गराएको छ । पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्दत भएको भन्दै जसपाले ध्यानाकर्षण गराएको हो ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उत्पीडित राष्ट्रियताप्रतिको सरकारको दृष्टिकोण आज आएर उदाङ्गिएको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नं. १ लाई कोसी प्रदेश नामकरण गरेपश्चात उक्त प्रदेशका जनताहरु आन्दोलित भएको कुरा सर्वविदित छ । करिव एक महिनादेखि प्रदेश न १ मा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिनुले सरकारमाथि प्रश्न उठेको छ ।’
पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति वर्तमान सरकार पनि असहिष्णु देखिएको बताएको छ । ‘पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्दत यस घटनाले जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । उत्पीडित राष्ट्रियताप्रतिको सरकारको दृष्टिकोण आज आएर उदाङ्गिएको छ ।’
यस्तै, जसपाले पहिचान प्राप्तिको आन्दोलनमा सहादत दिएका पदम लिम्बु लाजेहाङलाई सहिद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।
पार्टी प्रवक्ता मनिस कुमार सुमनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा हुदै होइन । उत्पीडित समुदायको राष्ट्रियताप्रति राज्य यति नकारात्मक र सशंकित हुनुपर्ने कुनै कारण पनि छैन । सबै जनताको पहिचान राजनीतिक अधिकार स्थापित हुने कुराले राष्ट्रियता अझ बलियो हुन्छ । जनताको माग र आन्दोलनलाई वेवास्ता गर्नु लोकतन्त्रप्रतिको वेवास्ता हो । अतः जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्छ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न, गराउन जनता समाजवादी पार्टी, नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
