पाँचथर । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘कोशी’ प्रदेश नाम परिवर्तनको विषयमा आन्दोलन गर्नु असान्दर्भिक भएको बताएका छन् । शुक्रबार समाजवादी प्रेस संगठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले ‘कोशी’ प्रदेशको नामको विषयमा बहस आवश्यक रहेको तर, नाम परिवर्तनको विषयमा आन्दोलन गर्नु असान्दर्भिक भएको खनालको अभिव्यक्ति दिएका हुन् ।
यस्तै, कार्यक्रममा बोल्दै नेता खनालले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा आम सञ्चारको भूमिका उल्लेख्य रहेको बताए ।
मागेजति मन्त्रालय नपाए एकीकृत समाजवादी सरकारमा सामेल नहुने पनि खनालले बताए । एकीकृत समाजवादी पार्टीले खेलेको भूमिकाबाट यो सरकार निर्माण भएको भन्दै नेता खनालले भने, ‘हाम्रो योगदानलाई बेवास्ता गरे एकीकृत समाजवादी सरकारमा सहभागी हुँदैन ।’
कुनै पनि दलको बहुमत नभएकाले सरकारको आयु लामो नहुने भन्दै खनालले भने, ‘आशा गरौँ यो सरकार लामो समय टीकोस ।’ कुनै पनि दलको बहुमत नपुग्नु ठूलो दुर्भाग्य पूर्ण अवस्था भएको भन्दै खनालले वर्तमान सरकार धेरै दलहरूलाई मिलाएर गठन गरिन लागिएको हुँदा यस्तो परिस्थितिमा कुन दल कतिखेर भड्किन्छ र सरकार ढल्छ भन्ने टुंगो नहुने उनले बताए ।
पछिल्लो राजनीतिक समीकरण अनुसार सबै प्रदेशहरूमा नयाँ सरकार गठन हुने भन्दै ‘कोशी प्रदेशमा सरकार गठन गर्न सजिलो नभएको उनले बताए । नेता खनालले कोशी प्रदेशमा कुनै पक्षसँग प्रयाप्त संख्या नभएको भन्दै संकट समाधानका लागि दलहरुले छलफल गरेर दीर्घकालिक समाधानको बाटो खोज्नुपर्ने बताए ।
देश चुनौतिपूर्ण अवस्थाबाट अगाडि बढेको र मुलुकमा जुन राजनैतिक परिदृष्य देखिएको छ त्यसले राम्रो संकेत नगरेको उनको भनाइ थियो ।
दुई तिहाइको सरकार विगठनको प्रयासपछि अस्थिरताको दौड सुरु भएको भन्दै वर्तमान सन्दर्भमा स्थायित्व र राष्ट्रियता सुदृढ गर्नुको विकल्प नभएको खनालले बताए । देशमा राजनैतिक मात्र होइन आर्थिक संकट पनि गहिरिएको, भ्रष्टाचार बेरोजगार विकराल अवस्था सृजना भएको जसका कारण आर्थिक संकट बढेको उनले बताए ।
पाँचथरको फिदिममा एकीकृत समाजवादी पाँचथर जिल्ला स्कुल विभागले आयोजना गरेको २ दिने पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको सन्दर्भमा नेता खनाल पाँचथरको सदरमुकाम फिदिम पुगेका छन् ।
