काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ, जापानले मुक्ति योद्धा लाजेहाङ्ग लिम्बुको हत्याको जिम्मा ८२ जना सांसदहरु, पहिचान विरोधि पार्टीहरु, मुख्यमन्त्रि हिक्मत कार्की, प्रधानमन्त्री र नेपाल प्रहरीले लिनुपर्ने बताएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘मुक्ति योद्वा लाजेहाङ्ग लिम्बुको हत्याको जिम्मा प्रदेश नं. १ लाई षडयन्त्रमुलक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरु, पहिचान विरोधि पार्टीहरु, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री र नेपाल प्रहरीले लिनु पर्दछ । मुक्ति योद्धा लाजेहाङ्ग लिम्बुको हत्याको अनुसन्धान गर्न छानविन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र योद्वा लाजेहाङ्गलाई सहिद घोषणा गर्न नेपाल आदिवासी जनजाति महासंघ जापान (नेफिन) जोडदार माग गर्दछ ।’
महासंघले ‘ कोशी’ नाम तत्काल खारेज गर्न पनि माग गरेको छ । महासचिव शिशिर निङ्लेकु र अध्यक्ष संजिव राईद्धारा जारी विज्ञप्तिमा भनिएको छ , ‘प्रदेश नं. १ लाइ जबर्जस्त कोशी नामाङ्गकन गरी मुलुकमा आशान्ति फैलाउने र आफ्नो स्वार्थ पुरा गराउने उदेश्यले मुट्ठीभर एकात्मकवादीहरु सक्रिय भएको हुँदा देश र जनताको हितको लागि कोशी नाम तत्काल खारेजी गरि प्रदेश नं. १ को जनताको मर्म र भावना अनुरुप प्रदेशको नामांङ्गकन गरिनु पर्दछ ।’
थप आन्दोलन चर्किने र हिंसा भड्किन सक्ने भन्दै त्यसको जिम्मा नेपाल सरकारले लिनपर्ने महासंघले बताएको छ ।
प्रदेश नं. १ नामाङ्गकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीको लागी यही चैत्र ५ गते विराटनगरमा आयोजना गरेको विशाल बिरोध जनप्रदर्शनको क्रममा नेपाल प्रहरीको आक्रमणमा घाइते भएका लाजेहाङको शुक्रबार बिहान साढे २ बजे उपचारको क्रममा मृत्यु भएको छ । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारारत रहेका उनलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी गर्दागर्दै उनको मृत्यु भएको थियो ।
लिम्बु प्रदेश नं. १ पुनः नामाङ्गकन संयुक्त संघर्ष समितिको घटक दल संघीय लोकतान्त्रिक रास्ट्रीय मंच, संघीय लिम्बुवान प्रान्तीय मंच नेपालको सचिवालय सदस्य एवम् मंच माताहत लिम्बुवान भोलेन्टियर्स (एल भी) का केन्दी्रय सहकमान्डर थिए ।

