काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, वर्तमान प्राज्ञ परिषद्ले गरेका केही निर्णयप्रति साहित्य सन्ध्या नामक संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले ‘नेपाली कोश र व्याकरण विभाग’ हटाउने र आजीवन सदस्यता खोसिएको प्रति संस्थाले गम्भीर ध्यानाकर्षण गराएको हो ।
प्रतिष्ठानबाट नेपाली कोश र व्याकरण विभाग’ हटाइएकोप्रति ध्यानाकर्षण गराउँदै संस्थाका अध्यक्ष राम विनयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान प्राज्ञ परिषद्ले आफ्नो पहिलो बैठकमै विभागीय कार्यविभाजन गर्ने क्रममा सुनियोजित तबरले विभागको अस्वाभाविक र अमिल्दो पुनर्गठन गर्नुका साथै नेपाली भाषालाई अपमान गर्दै नेपाली नेपाली भाषा होइन, यो त खस भाषा हो भनी “नेपाली कोश र व्याकरण विभाग” हटाउने जुन कार्य भएको छ, यो नेपालको संविधान एवम् प्रज्ञा–प्रतिष्ठानका ऐन, नियम र परम्पराविपरीतको कार्य हो ।’
त्यसै गरी आजीवन सदस्य खोसेर वर्तमान परिषदले नेपालका विशिष्ट साधकहरूलाई अपराधी करार गरी घोर अपमान गरेको आरोप लगाएको छ । ‘वर्तमान प्राज्ञ परिषद्को बैठक सङ्ख्या दुईले विशिष्ट साधकहरूलाई दिइएको आजीवन सदस्यता खोस्ने बारेमा सभाको अधिकारसमेत आफैँ प्रयोग गरी गरेको प्रचलित प्राज्ञिक मर्यादापूर्ण परम्परा र कानुनविपरीतको जुन निर्णय छ, यसले नेपालका विशिष्ट साधकहरूलाई अपराधी करार गरी घोर अपमान गर्ने कार्य गरेको छ ।’
सस्थाले आजीवन सदस्यता नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत नेपाल सरकारले २०२२ सालबाटै नेपालका विशिष्ट साधकहरूलाई सम्मानस्वरूप दिँदै आएको प्रष्टाउदै आजीवन सदस्यता र सोबापत दिइने रकम कुनै जागिरको तलब नभइ विशिष्ट प्राज्ञिक योगदान गरेबापत मूर्धन्य स्रष्टा तथा साधकहरूलाई प्रदान गरिने ‘सम्मानवृत्ति’ भएको बताएको छ । ‘यो मागेर होइन, स्रष्टाहरूले साधना र योगदान गरेबापत राज्यले सम्मानस्वरूप दिँदै आएको पारितोषिक हो । यस निर्णयले विगतका स्रष्टाहरू कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम, राष्ट्रकवि माधव घिमिरे, भाषाशास्त्री बालकृष्ण पोखरेल, इतिहास र ज्योतिषका अन्तर्राष्ट्रिय विद्वान् प्रा.नयराज पन्त, दर्शनशास्त्रका विशिष्ट विद्वान् प्रा.चूडानाथ भट्टराय, संस्कृति र पुरातत्त्वका विशिष्ट विद्वान् प्रा.रामनिवास पाण्डेय, वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी आदि दिवङ्गत साधकहरूको पनि घोर अपमान भएको छ र वर्तमानमा साधना गरिरहेका स्रष्टाहरूको त यस निर्णयले अपमान मात्र होइन, उनीहरूलाई अपराधीसरह करार गर्नाले उनीहरूको साधनामाथि नै प्रभाव पारेको र मुलुकलाई समेत सिर्जनाका तहबाट गम्भीर असर पार्ने काम भएको देखिन्छ ।’, विज्ञप्तिमा भनिएको छ ।