कुवेत । नेपाली दूतावास कुवेतको आयोजनामा कुवेतमा नेपालको पर्यटन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कुवेतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने, कुवेतवासीलाई नेपालको पर्यटनबारे जानकारी प्रदान गरी नेपाल भ्रमणको लागि उत्प्रेरित गर्ने उद्देश्यले नेपाली राजदूतावास कुवेतको आयोजनामा स्थानीय ट्राभल एजेन्ट्स, टुर अपरेटर्स् तथा सञ्चारकर्मीहरूको उपस्थितिमा मार्च ५, २०२३ का दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
‘डेस्टिनेशन नेपालः नेचर,कल्चर एण्ड एड्भेन्चर’ विषयक अन्तरक्रियामा कुवेत सरकारका सरकारी निकाय लगायत हवाई सेवा कम्पनीका प्रतिनिधिहरूको पनि उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालको वृहत् पर्यटन बजार, पर्यटकीय आकर्षणका स्थल, क्रियाकलाप, उत्पादनबारे प्रकाश पार्दै कुवेतवासीका लागि नेपाल एक सहज, प्रतिस्पर्धात्मक एवं आकर्षक गन्तव्य हुने भएकोले नेपालको पर्यटन बारे सकारात्मक सूचना एवं जानकारीहरू प्रवाह गर्न सहभागीहरूमा अनुरोध गरे ।

उनले कार्यक्रमको थिमबारे प्रकाश पार्दै कुवेतवासीका लागि नेपाल किन आकर्षक गन्तव्य हुन सक्छ भन्ने बारेमा तार्किक एवं तथ्यगत धारणा राखेका थिए । उनले ट्राभल क्षेत्रमा काम गर्ने र संचारकर्मीहरूले नेपालको पर्यटन प्रवर्द्धन गर्नमा ठूलो मद्दत गर्नसक्ने विचार व्यक्त गर्दै आफू र नेपाली राजदूतावास कुवेत यस कार्यमा उहाँहरूसँग मिलेर काम गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले कुवेतवासीहरू सहज, सुरक्षित, प्रतिस्पर्धी एवं आकर्षक गन्तव्यको खोजिमा रहेको र नेपालको पर्यटन बजार उनीहरुको त्यो आकांक्षा पुरा गर्न सक्षम रहेको धारणा व्यक्त गरे । उनले प्याकेज टुरको व्यवस्था गर्नुका साथै नेपालको पर्यटनबारे सत्य, तथ्य सूचना कुवेतवासी समक्ष पुर्याउन सहभागी सबैमा अनुरोध गरे ।
कार्यक्रममा दूतावासकी काउन्सिलर सुजनी रानाले नेपालको पर्यटकीय गन्तव्य, प्रमुख क्रियाकलाप, नेपालका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा, भिजा प्रणाली, आवास तथा सहज आन्तरिक र वाह्य यातायात सेवा, गन्तव्य स्थलमा अत्यावश्यक सुविधा, सुरक्षाको व्यवस्था आदि विववरण उल्लेख गरी नेपाल एक सुरक्षित र सुविधायुक्त गन्तव्य रहेको जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कुवेत एयरवेज तथा जजीरा एयरवेजले कुवेत–नेपाल–कुवेत सेक्टरमा भ्रमणका लागि दुई सहभागिका लागि ४ वटा हवाई टिकट प्रायोजन गरेकोमा ‘राफल ड्र’ मार्फत दुई जनालाई छनौट गरिएको थियो ।
कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूबाट नेपाली लोकनृत्य तथा सांगीतिक प्रस्तुति दिइएको थियो ।
कुवेतवासीबीच नेपालको पर्यटन बारे प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमको प्रायोजन स्थानिय नेपाली समूदायका सदस्यहरूले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले गरेका थिए ।