धनकुटा । हत्याको आरोपमा धनकुटाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका–५ का २२ बर्षीय निरज कट्वाल रहेका छन् ।
स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनकुटाले कट्वालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यही फागुन ११ गते राती मानबहादुर बस्नेत आफ्नै घरमा मृत अवस्थामा रहेको सूचना पाएसँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको थियो । मृतक बस्नेतको धारीलो हतियार प्रयोग गरी टाउकोसमेत छुट्याएको अवस्थामा शरीरको भाग मात्र फेला पारेको प्रहरी टोलीले थप अनुसन्धान गर्ने क्रममा मृतकको टाउको घटनास्थल देखि करिब साढे १ किलोमिटर पूर्व रहेको कुसुमबोटे खोला किनाराना ढुङगाले किचेर फालेको अवस्थामा फेला पारेको थियो ।
यसरी शरिर र टाउकोको भाग छुट्टाछुट्टै अवस्थामा फेला परेको जघन्य हत्याको सम्बन्धमा सुक्ष्म अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आरोपमा मृतकको भान्जा नाता पर्ने स्थानीय २२ बर्षीय कट्वाललाई पक्राउ गरेको हो ।
हत्या आरोपमा पक्राउ परेका कट्वालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।
