November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एकीकृत समाजवादी प्रदेश १ को चार दिने प्रशिक्षण सम्पन्न

२०७९ फाल्गुन १०

1.5K

लेटाङ । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं १ को स्कुल विभागद्वारा आयोजित चार दिने आवशीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको लेटाङमा कम्युनिस्ट घोषणापत्रको १७५ औं वर्ष मनाउँदै प्रशिक्षण कार्यक्रम सकिएको हो ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा प्रदेशको १५ (महानगर समेत) जिल्लाबाट ७० जना नेताहरूको उपस्थिति रहेको थियो ।

तालिमको पहिलो दिन कार्यक्रमको सुरुवातमा पार्टी उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, पार्टी उपाध्यक्ष तथा अनेमसंघ (समाजवादी) का अध्यक्ष जयन्ती राई, पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष बलदेव चौधरीले शुभकामना मन्तव्य राखेर प्रशिक्षण सुरु भएको थियो ।

Advertisement

पहिलो दिन समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति परिस्थिति बारे पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पार्टी महासचिव डा. बेदुराम भुसालः संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान, पूर्व प्रधानमन्त्री तथा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीका मार्ग निर्देशक सिद्धान्त तथा अबको बाटो विषयमा प्रशिक्षण गराएका थिए ।

यस्तै तालिमको दोस्रो दिन उपाध्यक्ष तथा पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमाल दक्षिणपन्थी विसर्जनवाद र पार्टी पुनर्गठनको औचित्य, केन्द्रीय सदस्य तथा पार्टी स्कुल विभाग सचिव अशेष घिमिरे पुँजीवादी प्रभुत्व र समाजवादी संघर्ष, पार्टी सचिवालय सदस्य घनश्याम भुसाल नेपाली समाजको रूपान्तरणका लागि समाजवादी कार्यदिशा विषयमा प्रशिक्षण भएको थियो भने सहभागीलाई ८ समूह निर्माण गरी प्रत्येक समुहलाई पार्टीका बिभिन्न दस्तावेजहरूको समूह अध्ययन पछि समूह प्रस्तुति भएको थियो ।

यस्तै तेस्रो दिन कम्युनिस्ट पार्टी र वैज्ञानिक ज्ञानप्रणालीः दर्शनशास्त्री डा. खगेन्द्र प्रसाईं, मार्क्सवादी आलोकमा परदेशको सांस्कृतिक प्रथा र रूपान्तरणका मुद्दाहरूः प्रदेश पार्टी स्कुल विभाग सचिव डा. दिवाकर रेग्मी , प्रदेश १ को विकास र अर्थराजनीतिबारेः प्रदेश १ पार्टी स्कुल विभाग सदस्य प्रकाश राईले सहजिकरण गरेका थिए । कार्यक्रममा विभिन्न ८ वटा समुहमा प्रस्तुति हुनुका साथै पार्टी केन्द्रीय कमिटी सचिव तथा प्रदेश १ का पूर्प मुख्यमन्त्री राजेन्द्र कुमार राईले शुभकामना मन्तव्य राखेका थिए ।

यसैगरी कार्यक्रमको अन्तिम चौथो दिन कम्युनिस्ट घोषणापत्र प्रकाशनको १७५ वर्ष मनाउँदै कार्यक्रम सुरु भएको थियो भने सबैले मिलेर घोषणापत्रका मुख्य बुँदाको स्मरण । विश्वका श्रमिक एक हौं । कम्युनिस्ट आन्दोलन जिन्दावाद । समाजवादी संघर्ष जिन्दावाद जस्ता नाराहरू सहित कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा कम्युनिस्ट पार्टी र महिला आन्दोलनः केन्द्रीय सदस्य तथा प्रदेश १ उपसचिव सरिता खड्का, हाम्रा तत्कालीन कार्यभारहरूः पोलिटब्युरो सदस्य तथा प्रदेश पार्टी स्कुल विभाग प्रमुख धर्म निरौला ,संवैधानिक उपलब्धीको कार्यन्वयनबारेः पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले सहजिकरण गर्नु भएको थियो पार्टी स्कुल विभागका सचिव अशेष घिमिरेले बताए ।
कार्यक्रमको अन्त्यमा सहभागिहरुको परीक्षा तथा दिक्षान्त समारोहसमेत भएको थियो । समापन कार्यक्रममा पार्टी उपाध्यक्ष तथा प्रदेश इन्चार्ज घनेन्द्र बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए ।

पार्टी प्रदेश कार्यालय सचिव चिरञ्जिवी भट्टराईले कार्यक्रमको आम्दानी तथा खर्च सार्वजनिक गरेका थिए भने पार्टी पोलिटब्युरो सदस्य, तथा प्रदेश उपाध्यक्ष राजन राईले धन्यवाद ज्ञापन गरेका थिए ।