काठमाडौं । नाबालिग बलात्कारका आरोपी राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध हुने विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलाको अन्तिम टोलीमा समावेश गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा सन्दीपलाई पनि समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सातासम्म चल्ने श्रृंखला फागुन २ देखि शुरु हुनेछ । नेपालको टिममा रोहित र सन्दीपसँगै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, भीम सार्की र सूर्य तामाङ रहेका छन् ।
सन्दीपमाथि गत भदौ ५ गते एक नाबालिगलाई काठमाडौंको तिलगंगास्थित होटलमा लगेर बलात्कार गरेको अभियोग छ । उनी राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरेर टी–२० अन्तर्राष्ट्रिय खेलका लागि केन्या जानुभन्दा अघिल्लो साँझ बन्द प्रशिक्षणबाट निस्केर नाबालिग बलात्कार प्रकरणमा मुछिएका थिए ।
सन्दीपविरुद्ध पीडित किशोरीले भदौ २१ गते उजुरी दिएकी थिइन् । भदौ २३ गते जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि क्यानले सोही दिन नै सन्दीपलाई क्यानले कप्तान र राष्ट्रिय खेलाडीबाट निलम्बन गरेको थियो ।