November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सन्दीपविरुद्ध मुद्दा दर्तादेखि धरौटीमा छोड्ने आदेश सम्मका फाइलहरु मगाउन आदेश

1.7K

काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश जारी गरेको छ।

उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले दायर गरेको पुनरावलोकन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको शुक्रबारको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो। न्यायाधीश फुयालको इजलासले सन्दीपविरुद्ध मुद्दा दर्तादेखि उच्च अदालत पाटनबाट धरौटीमा छोड्ने आदेश सम्मका फाइलहरु मगाउन भनेको हो।

नाबालिक बलात्कारको मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

Advertisement

उच्च अदालत पाटनको उक्त आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको थियो। सरकारी पक्षको निवेदनमा उच्च अदालत पाटनको आदेश खारेज गरी सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने आदेश जारी गर्न माग गरिएको छ।

उच्च अदालतको आदेशपछि रिहा भएपछि नेपाल क्रिकेट संघले सन्दीपमाथिको निलम्बन फुकुवा गरिसकेको छ। क्यानको निर्णयानुसार सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा समेत सहभागी भइसकेका छन्।