November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सवारी लाइसेन्स ६ महिनासम्म निलम्बन गर्ने सरकारी नीतिको विरोध

1.4K

काठमाडौं । प्रगतिशील नेपाल स्वतन्त्र यातायात मजदूर युनियनले सवारी चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने सरकारी नीतिको विरोध जनाएको छ । बिहीबार युनियनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त सरकारी नीतिको विरोध जनाएको हो ।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावली १६४ को उपदफा ४ लाई अक्षरंश कार्यान्वयन, सामान्य कमजोरीमा नै चालक अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने विनियम तत्काल खारेज, हालसम्म ६ महिने निलम्बनमा पारिएका चालकको आश्रित परिवारलाई आवश्यक दैनिक गुजाराको ब्यवस्था र रिङरोड वरिपरि यातायात संचालन गर्ने यातायात श्रमिकको लागि शौचालयको व्यवस्थालगायतका माग राख्दै पत्रकार सम्मेलन गरेका हुन ।

पत्रकार सम्मेलनमा यातायात क्षेत्रका मजदूरहरु यातायात व्यवस्था कार्यालय र विभागको गलत नीतिको शिकार बनिरहेको बताएका छन । उनीहरुले दुर्घटना न्यूनीकरणको नाममा झण्झटिलो ट्राफिक नियमावलीको कारण दैनिक रूपमा दशौं यातायात मजदूर कामविहिन हुनुपरेको भन्दै पाँचपटक ट्राफिक नियमावलीअन्तर्गत कार्वाही परेका यातायात क्षेत्रमा समर्पित चालकको चालक अनुमतिपत्र ६ महिनासम्म निलम्वन गर्ने सरकारी नीतिको कारण हालसम्म सयौँ चालकहरु बेरोजगार हुनुपरेको बताएका छन ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्वतन्त्र यातायात मजदूर युनियनकी उपाध्यक्ष सुस्मिता लामिछानेले सरकारले ल्याएको लाईसेन्स खारेजीको माग गरिन् । उनले भनिन,‘सवारी तथा यातायात ब्यवस्था ऐनमा भएको ६ महिनाको लागि लाइसेन्स खारेजको विरोध गर्दछु। यसले मजदूर व्यवसायीहरुलाई धेरै पीडामा पारेको छ ।’ उनले भनिन,‘सानो सानो गल्तिलेपनि ट्राफिक प्रहरीहरुले पटकै पिच्छै चिट, एकै दिनमा एउटै गाडीको ३ पटकसम्म चिट काटिन्छ। चिट काटिसकेपछि हामीले तिर्ने जरिवाना तिरेका पनि छौं। जरिवाना तिर्दापनि यो सरकारले ल्याएको लाइसेन्स खारेजको नियम ल्याएको रहेछ ।’

कार्यक्रममा बोल्दै नेपाल स्वतन्त्र यातायात मजदूर युनियनका अध्यक्ष दुर्गामान बर्देवाले यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण नै फरक रहेको बताए । उनले अहिले नेपालमा करिब २२ लाख सार्वजनिक सवारीसाधन चलिरहेको र त्यसमा करिब ४४ लाख मजदूरले यातायात क्षेत्रमा काम पाएको बताए । उनले सडकमा राज्यले नै राम्रो भौतिक पूर्वाधार निर्माण नगरेको भन्दै भने,‘सडकका भौतिक पूर्वाधार र ब्यवस्थापन राम्रो छैन। ब्यवस्थापन राम्रो नभएका कारण हामी यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई राज्यले र ट्राफिक प्रहरीहरुले जहिलेपनि कारवाहिमा पारिरहेका हुन्छन ।’

यस्तै प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ अध्यक्ष केदार गिरीले राज्यलाई निर्माण गर्ने शक्ति श्रमजिवी वर्गनै भएको बताए । उनले भने,‘हामीसँग सत्ताभित्र रहेका साझेदार ट्रेड युनियनहरु छन । तिनीहरुले नै मजदुरहरुलाई उठालेर आन्दोलन अगाडि बढाउछन् । भोलि गएर सरकारसँग बार्गेनिङ् गरेर त्यो बार्गेनिङको प्वाइन्टमा पुगिसकेपछि उनीहरुले त्यो मजदुर आन्दोलनलाई तुहाएको इतिहासहरुपनि हाम्रै माझ छ ।’

आफ्ना मागहरु राज्यले जबसम्म सुनुवाइ गर्दै तबसम्म आन्दोलनलाई निरन्तर अगाडि बढाउने उनको चेतावनी छ । उनले भने,‘यदि एउटा बच्चाले आमासँगबाट आफूले पाउनुपर्ने अधिकार दुध खुवाउनका लागि बच्चा नरोइकन आमाले दुध खुवाउँदैन। मेरो बच्चा खेलिराखेको छै, यसलाई भोक लागेको छैन भन्छ भने हामी यो राज्यलाई निर्माण गर्ने श्रमिक हौं। यदि राज्यले हाम्रो मागलाई सुनुवाई गर्दैन भने हामीले यो आन्दोलनलाई दुई दिन, तीन दिन हैन । यो आन्दोलनलाई निरन्तर अगाडि लिएर जान सक्नुपर्छ, तबमात्रै हाम्रो मागहरु सम्बोधन हुनसक्छन् ।’

पत्रकार सम्मेलनमा प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ अध्यक्ष केदार गिरी, प्रगतिशील नेपाल स्वतन्त्र यातायात मजदूर युनियन अध्यक्ष दुर्गामान बर्देवा र उपाध्यक्ष सुस्मिता लामिछानेको उपस्थिति रहेका थियो।