काठमाडौं । अमेरिकामा ‘सोनाम ल्होछार– २८५९ तथा डम्फु साँझ–२०२३ भव्य रुपमा मनाइएको छ । तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व, चाड तथा नयाँ वर्ष भव्य रुपमा मनाइएको हो ।
गत शनिबार न्यूयोर्कमा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्षता सोसाइटीका अध्यक्ष छेमाङ लामाले गरेका थिए । कार्यक्रममा ज्येष्ठ नागरिकहरू धनमाया तामाङ, केशरबहादुर लामा, सीतामाई लामा, मीनसकल लामा, प्रा.प्रकाशचन्द्र लामाको प्रमुख आतिथ्यमा रहेको थियो भने विशेष अतिथिहरू न्यूयोर्क राज्यका जोन लिउ–सेनाटो, एम्बेसीका सदस्यहरु जेनिफर राजकुमार, जुआन अर्डिला, स्टीवन रागा र काउन्सिल सदस्य जुली वोन रहेका थिए । यस्तै, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अध्यक्ष राजकुमार विष्ट, तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष, भूपू मेजर मोहन वाईबा, तामाङ सोसाइटी अफ अमेरिका संस्थापक अध्यक्ष सुवास स्याङबो, फिप्ना सल्लाहकार एवं बौद्धिक व्यक्तित्व बि.आर.लामा, बौंद्ध धर्मगुरु दावासाङपो योल्मोपा, फिवना अमेरिका अध्यक्ष इन्दिरा चोङवाङ लगायतका व्यक्तित्वहरुको विशेष आतिथ्यता तथा विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यमा रहेको थियो ।

यसपटकको कार्यक्रम ऐतिहासिक रहेको कार्यक्रमका संयोजक चन्द्र बज्यू तामाङ्ले बताए । ‘कार्यक्रम सफल बन्नेमा ढुक्क थियौं, कार्यक्रम अझ अपेक्षा भन्दा धेरै राम्रो भयो ।’,तामाङले नेपाल मामिलासँग भने ।
कार्यक्रमको सुरुवात पुजापाठ, साङसेर्केम ताम्बा लालमान तामाङ, राम पाख्रीन तामाङले तामाङ रिमठिम अनुसार गरेका थिए । कार्यक्रमको पहिलो औंपचारिक सोनाम ल्होछार तथा डम्फू साँझ कार्यक्रममा राष्ट्रिय गान, डम्फू अनावरण, दीप छ्युमे बालेर गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अध्यक्ष राजकुमार विष्ट, तामाङ सोसाइटी अफ नर्थ अमेरिका अध्यक्ष मोहन वाईबा, तामाङ सोसाइटी अफ अमेरिका संस्थापक अध्यक्ष सुवास लामाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू सुवास स्याङबो, राम तामाङ, ईन्द्र तामाङ, भरत मोक्तान, पूर्व अध्यक्ष एवं फिप्ना उपसभामुख गोमा योन्जन, पूर्वअध्यक्ष सानुमाया तामाङ,फिप्ना सचिव निमा गोले तामाङ, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चर्चित कलाकारहरु विजय लामा, संजोक योन्जन, शशिकला मोक्तान, हास्य कलाकार, जादुगर महादेव त्रिपाठी, जगदिश समाल, कलाकारहरु गोमा योन्जन, सुमित्रा लामाको जोडदार प्रस्तुति रहेको थियो भने तामाङ डम्फू सेलो, म्हेन्दोमाया, अन्य गीतहरु पनि प्रस्तुत गरिएको थियो ।
यस्तै, कार्यक्रममा स्थानीय कलाकारहरुले तामाङ सेलो, विभिन्न गीतमा आकर्षक नृत्य तीन दर्जन भन्दा बढी कलाकारहरु क्रमशः ऋचा तामाङ, जस्मिन शेर्पा, रेनाश्री लामा, विशेल्सता लामा, डिकिला थिङ, निना तामाङ, परिशा रुम्बा, प्रतिमा लामा, शिल्पा लामा, रेनु तामाङ, शर्मिला मोक्तान, निमिशा थापा मगर, फिनिक्स राणा, श्रीजना मोक्तान, भीनबहादुर तामाङ, गन्जमान ग्लान, साङडुक्पा लामा, माइकल योन्जनले प्रस्तुति दिएका थिए ।
औपचारिक कार्यक्रमको संचालन तामाङ सोसाइटी अफ अमेरिकाका महासचिव प्रविण लामाले गरेका थिए भने सांस्कृतिक कार्यक्रम चुनु घिसिङले संचालन गरेकी थिइन् ।
