November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

सफाइ पाएका पल शाह अब रिहा हुन्छन् ?

1.7K

काठमाडौं । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

त्यसैगरी जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । शाहमाथि एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा मुद्दा दायर भएको थियो ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि शाह तत्काल रिहा हुने छैनन् । किनकि जिल्ला अदालत नवलपरासी पूर्वले उनलाइ यसअघि बाल यौन दुराचारको आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । सोही फैसला अनुसारको सजाय भुक्तान गर्न उनी जेलमा छन् ।

Advertisement

म्युजिक भिडिओ छायाङ्कनका क्रममा नवलपुरको गैंडाकोट पुगेका वेला र बाग्लुङबाट फर्कंदा तनहुँमा शाहले ती बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो। गैंडाकोटमा २०७७ मा र तनहुँमा २०७८ मा बालिकालाई बलात्कार गरेको अभियोग छ। 

शाहले तनहुँको दुलेगौंडामा चिनारुको घरमा पुर्‍याएर विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको अभियोगपत्रमा उल्लेख छ। यी दुवै घटनामा क्रमशः नवलपुर र तनहुँमा मुद्दा चलेको थियो। पीडित बालिका र उनका अभिभावक, साक्षीले अदालतमा भने घटना नभएको भन्दै अभियोग विपरीत भनाइ राखेका थिए।  यो घटनापछि पीडित र पीडक दुवै पक्षबीच मिलापत्रका लागि काठमाडौंको पुरानो बानेश्वरमा छलफल भएको थियो। उक्त छलफलमा पीडित २० वर्ष पुगेपछि विवाह गर्ने सहमति बनेको शाहले प्रहरी बयानमा भनेका थिए।