November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘स्कुलमा कविता’ कार्यक्रमको अडिसन गर्दै स्वर्णिम साहित्य समाज

2.1K

मनोरञ्जन र सस्तो लोकप्रियताभन्दा पनि समाजले दिएको जिम्मेवारीलाई कसरी पूरा गर्ने भन्ने चिन्ताले सताउँछ : अध्यक्ष दिप्साली ।

बराहक्षेत्र । स्वर्णिम साहित्य समाज बराहक्षेत्रले नयाँ सिर्जनाको खोजी गर्न ‘स्कुलमा कविता’ प्रतियोगितात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ । शुक्रबार बराहक्षेत्र नगरपालिका ३ स्थित सभाहलमा पत्रकार सम्मेलन गरी आयोजकले उक्त कार्यक्रमबारे जानकारी गराएको हो ।

माघ १४ गतेबाट सुरु गरिने प्रतियोगितात्मक कार्यक्रममा बराहक्षेत्र नगरपालिका भर रहेका माध्यमिक तहका विद्यार्थीहरुबीच कविता प्रतियोगिता आयोजना गर्दै उत्कृष्ट ४ कविलाई आकर्षक पुरस्कार प्रदान गरिने छ । आशाका किरणहरुलाई प्रोत्साहित गर्दै लेखनमा जिम्मेवारी बोध गराउने लक्ष्यका साथ यो बृहद कार्यक्रमको आयोजना गर्ने सोच राखेका संस्थाका अध्यक्ष प्रकाश दिप्साली राईले बताए । ‘यो स्वर्णिम साहित्य समाजलाई मनोरञ्जन र सस्तो लोकप्रियताहरु भन्दा पनि हामीलाई यो समाज र सिर्जनशील मनहरुले दिनुभएको जिम्मेवारी कसरी पूरा गर्ने भन्ने चिन्ता हाम्रो पहिलो प्राथमिकता हो ।’, अध्यक्ष दिप्सालीले भने ।

स्थाका अध्यक्ष प्रकाश दिप्साली राई

साविक गाविसका सबै विद्यालयहरुलाई एक दिन अडिसनका रुपमा प्रतियोयोगिता आयोजना गर्ने छ । साविक ५ वटा गाविसका स्कुलहरुमा ५ ठाउँमा पहिलो चरणको प्रतियोगिता गराइने छ । त्यहाँबाट उत्कृष्ट २/२ कवि छनोट हुनेछन् र उत्कृष्ट १० कविबीच फाइनल प्रतियोगिता गराइनेछ । छनौट भएका उत्कृष्ट १० कवि र कविताबाट उत्कृष्ट ४ कवि र कवितालाई विशेष पुरस्कार राख्ने भएको छ । अडिसन राउण्डमा महिना दिन खर्च हुने भएकाले फाइनलको दिन देशकै प्रतिष्ठित कवि लेखकहरुलाई बराहक्षेत्रमा निम्त्याएर उत्कृष्ट ४जना कवि प्रतिभालाई आकर्षक पुरस्कार प्रदान गर्ने भएको छ ।

Advertisement

प्रथम हुनेले ट्रफि, मेडल, प्रमाण पत्रसहित नगद १० हजार पाउने छ भने द्धितीय, तृतीय र सान्त्वना हुनेलाई मेडल, प्रमाण पत्रसहित जनही नगद २ हजार प्राप्त गर्ने छन् ।

पहिलो चरणमा प्रत्येक साविक गाविस भरिका एक स्कुलमा कार्यक्रममा प्रतियोगिता गरिने र पहिलो चरणमा पूर्वमा कहलिएका कविको साथमा स्थानीय श्रष्टाहरुलाई निर्णायकहरु राख्ने भएको छ । पहिलो चरणको निर्णायकका रुपमा पत्रकार सम्मेलनमै वराहक्षेत्रका स्थानिय कविहरु प्रलाह्द भट्टराई (पहरेदार),राजन इशारा र सविता फागो लिम्बूलाई घोषणा गरिएको छ । फाइनल राउण्डमा भने देशकै प्रतिष्ठित कविहरुलाई निर्णायक मण्डल बनाउने राईले बताए ।

सिर्जनशील उमेरका विद्यार्थीहरु साहित्य सिर्जनासँग जोडिने, आफूमा रहेको कविता लेखनलाई परिमार्जित गर्दै लेखनलाई थप मजबुत बनाउने, कविता लेखनलाई जिम्मेवारी ठान्दै आफ्नो गाउँ समाजका निम्ति जनचेतनामुखी सिर्जना गर्न सक्ने र आगामी दिनमा बराहक्षेत्रलाई सर्जकहरुको क्षेत्रको रुपमा थप परिचित गराउने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिन लागेको अध्यक्ष राईले बताए ।

कविता प्रतिभाको खोजी गर्दै ती प्रतिभाहरुलाई थप फलाउने फुलाउने उदेश्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका सचिव लक्ष्मण कटुवालले बताए । वराहक्षेत्र ३ नम्बर वडाको सभा हलमा राखिएको कार्यक्रममा वराहक्षेत्रका बौद्धिक व्यक्तित्व, पत्रकारहरुको राम्रो उपस्थिति रहेको थियो ।