November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राजनीतिक घटनाक्रमसँगै काँग्रेसनिकट साहित्यकारहरू स्तब्ध

5.3K

काठमाडौं । अकल्पनीय रुपमा परिवर्तन भएको राजनीतिक घटनाक्रमका कारण साहित्यकारहरू स्तब्ध बनेका छन् । नेपाली काँग्रसेसँगको गठबन्धन तोडेर नेकपा माओवादी (केन्द्र)का अध्यक्षले आइतबार नेकपा (एमाले)को सहयोगमा विभिन्न दलसँग सत्तासाझेदारी गरी सरकार बनाएपछि नेपाली काँग्रेसनिकट साहित्यकारहरू स्तब्ध बनेका हुन् ।

पुस १ गतेदेखि रिक्त रहेको नेपाल प्रज्ञा–प्रतिष्ठान र पुस १६ गतेदेखि रिक्त हुने ललितकला तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानमा नियुक्ति हुन तयार रहेका काँग्रेसी लेखक/साहित्यकार तथा कलाकारहरूलाई अहिलेको परिस्थिति सपनाजस्तो भएको छ । यसको सबैभन्दा बढी असर नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका विष्णुविभु घिमिरेलाई परेको छ । उनी आफू प्रज्ञा–प्रतिष्ठानको कुलपति हुन्छु भन्नेमा विश्वस्त थिए । उनले प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूलाई फोन गरेर ‘म चाँडै कुलपति भएर आउँदैछु । विचारपुर्‍याएर काम गर्नू’ समेत भनिसकेका थिए । यस्तै एक निवर्तमान पदाधिकारीलाई समेत फोन गरेर ३८औँ प्राज्ञ सभा रोक्न भनेका थिए । उनले ती पदाधिकारीलाई जे गर्नु छ आफू आएर गर्ने बताएका थिए ।

प्रज्ञा प्रतिष्ठठान स्रोतका अनुसार घिमिरेले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत कर्मचारी सन्ध्या पहाडीलाई निवर्तमान पदाधिकारीहरूका बारेमा खबरदारी गर्न र उनीहरूविरुद्ध मिडिया परिचालन गर्न खटाएका थिए । विशेष गरी निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद्का सदस्य हेमनाथ पौडेलविरुद्ध अनर्गल प्रचार गरेका थिए । सन्ध्या पहाडी तिनै हुन् जसले एकपटक बंगलादेश एकेडेमीबाट आएका पाहुनाहरूको डलर सटही गर्दा मोटो रकम गायब पारिदिएका आरोप छ भने प्राज्ञ परिषद्लाई पूरै असहयोग गरेकी थिइन् । उनलाई उनै पूर्व उपकुलपति घिमिरेले छाँया कुलपतिका रूपमा खटाएका थिए । पहाडीले योजना तथा कार्यक्रम महाशाखामा कार्यरत रहँदा हरेक कुरामा कमिशन खाने गरेको कर्मचारीहरू बताउँछन् । स्रोतका अनुसार उनले निवर्तमान पदाधिकारीहरूविरुद्ध लेख्ने पत्रकारलाई नयाँ बन्ने परिषद्लाई भनेर सञ्चार सल्लाहकारको जागिर दिनेसमेत प्रलोभन दिएकी थिइन् ।

Advertisement

कुलपति, उपकुलपति, सदस्य सचिव र परिषद् सदस्यका लागि काँग्रेस निकट छुट्टाछुट्टै चार समूह बनेको थियो । विष्णुविभु घिमिरे, तुलसीप्रसाद भट्टराई, व्रतराज आचार्य, ध्रुवचन्द्र गौतमको गुट सक्रिय थियो । घिमिरेको गुटलाई नेपाली लेखक संघको साथ थियो । देउवा निकट मानिएका भट्टराईको संभावना रोक्न र उनको छवि धुमिल बनाउन घिमिरेले पूरै शक्ति लगाएका थिए । चारै गुटले आ–आफ्नो टिम निर्माण गरिसकेको थियो । नियुक्तिका लागि सतप्रतिशत ढुक्क रहेकाहरुमा श्रवण मुकारुङ, रामलाल जोशी, मनोज न्यौपाने, ठाकुर बेलबासे, वियोगी बुढाथोकी, ज्ञानू पाण्डे, किशोर पहाडी, लक्ष्मणप्रसाद गौतम, कुमार कोइराला, विवश पोखरेल, धु्रव मधिकर्मी, गीता कार्की, शशी थापा पण्डित, महेश पौडेल आदि थिए । अकल्पनिय रुपमा परिस्थितिले पल्टा खाएपछि सबै जना अहिले स्तब्ध बनेका हुन् ।