November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश १ मा पनि फेरिँदै सत्ता समीकरण‚ एमाले-माओवादीको सरकार बन्ने

2.6K

विराटनगर : संघको पछिल्लो राष्ट्रिय राजनीतिमा हलचल भएसँगै यति वेला  प्रदेश १ मा उत्तिकै प्रभाव परेको छ। संघको राजनीतिक समीकरण कुरेर बसेका प्रदेशका दलहरू संघीय सरकार  गठनको प्रक्रियामा एमाले निर्णायक बनेसँगै प्रदेश १ को पनि राजनीतिक समीकरण बदलिएको छ।

संघमा सरकार गठनको प्रक्रियामा एमालेसँग सहमति जुटेको भए पनि  प्रदेश १ मा भने कुन दलको नेतृत्वमा सरकार निर्माण हुने हो भन्ने अझै ठोस निर्णय भएको छैन। संघमा सत्ता समीकरणले कोल्टे फेरेसँगै यहाँ माओवादी-एमालेले सत्ता साझेदारी गर्ने निर्णय गरेसँगै यति वेला निर्णायक भूमिकामा रहेकी जसपाकी एक्ली सांसदको पनि महत्व घटेको छ।

यसअघि सत्ता पक्षमा रहेका काँग्रेस, माओवादीलगायतसँग ४६ जना सांसद हुँदा एमाले र राप्रपासँग पनि ४६ जना सांसद थिए। दुवैले सरकार बनाउने प्रयास गर्दा जसपाकी सांसद लिम्बू निर्णायक बनेकी थिइन्। 

Advertisement

प्रदेश १ मा  सबैभन्दा ठूलो दल रहेको एमालेसँग ४० सांसद छन्। दोश्रो स्थानमा रहेको नपाली काँग्रेससँग २९ जना सांसद छन् भने तेश्रो स्थानमा रहेको माओवादी केन्द्रसँग १३ सांसद छन्। राप्रपासँग ६ र जसपासँग १ सांसद छन्।

सबै सांसदको संख्या जोड्दा ६० पुग्छ। ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना  हुँदा सरकार गठन गर्न सहज हुन्छ।

सत्ता समीकरणबाटै बाहिरियो काँग्रेस

संसदीय दल चयन नै सकस भइरहेको नेपाली काँग्रेससँग २९ जना सांसद छन्। प्रदेश १ मा दोश्रो ठूलो दल रहेको काँग्रेस गठबन्धनभित्रको ठूलो दल भएकाले प्रदेश १ सरकार आफ्नो नेतृत्वमा हुनुपर्ने दाबी गर्दै आइरहेको भए पनि पछिल्लो  संघमा भएको राजनीतिक निर्णयले भने काँग्रेस प्रदेश सरकार गठन प्रक्रियाबाटै बाहिरिएको छ। ​अर्थात काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको छ।

काँग्रेस प्रतिपक्षी भएर बस्नुपर्ने अवस्था देखिएसँगै एकीकृत समाजवादीले पनि सरकारमा नजाने निर्णय गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको आजै बसेको बैठकमा अकस्मात विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भएको बताउँदै देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको जनाइएको छ।

प्रदेश १ को नेतृत्व कसको पोल्टामा?

‘एमालेको नेतृत्वमा सरकार बनाउने तयारीमा हामी जुट्छौँ ‚’ आजै सर्वसम्मत एमाले दलको नेता चयन भएका हिक्मतकुमार कार्कीले  सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै भने।

प्रदेश १ मा एमालेले  मुख्यमन्त्री पाउने सहमति माओवादीसँग भए उनै कार्की मुख्यमन्त्री हुने सम्भावना देखिएको छ। केन्द्रमा माओवादीले प्रधानमन्त्रीको भाग पाएकाले प्रदेश १ मा माओवादीको साटो एमालेको नेतृत्वमा सरकार गठन हुन सक्ने नेताहरू बताउँछन्।

प्रदेश १ मा सहमति भएर माओवादीको भागमा मुख्यमन्त्री परे माओवादी केन्द्रका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने निश्चितप्रायः देखिन्छ।

माओवादी केन्द्रले सोमबार आयोजित प्रदेशसभा सदस्यको शपथग्रहण सकेर दलको नेता चयन गर्ने जनाएको छ। दलको नेता चयनमा कुनै विवाद नहुने र सर्वसम्मतको आधारमा आङ्बो नै दलको नेता बन्ने निश्चित रहेको माओवादी केन्द्रका नेताहरू बताउाछन्।