काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दर्ता गर्न लागिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन सकेको थिएन ।
प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।
प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ । सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन् ।
२० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको थियो ।