काठमाडौ । लिम्बू कथानक चलचित्र ‘लोजिमा’ को छायांकन भइरहेको छ । चलचित्रको गत कात्तिक ३ गतेबाट छायांकन सुरु भएको हो ।
चलचित्र सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, बर्मेक, स्काइपार्क पेलिङ, बुद्धपार्क राभालाङ, जोरथाङ लगायत सिक्किमको विभिन्न रमणीय एवम् पर्यटकीयस्थलहरुमा छायांकन भरहेको छ । चलचित्रलाई सागर सुब्बाले निर्देशन गरिरहेका छन् । यसअघि निर्देशक सुब्बाले नेपाली चलचित्र ‘निष्ठुरी मायालु’ र शेर्पा चलचित्र ‘कुसुम’ निर्देशन गरेका छन् ।
चलचित्रको कथा सागर केरुङ्ले लेखेका हुन् । यो लेखक केरुङको १३औँ स्कृप्ट हो । केरुङ्ले यसअघि लिम्बुहरुको सबैभन्दा धेरै अवार्ड पाउन सफल चलचित्र ‘के’ लेखन/निर्देशन गरेका छन् । यस्तै उनले साम, हेल्लुक्वा, रित, नाहेन, थिम, थेत्लङ, पुङ्साम, तुम्याहाङ, अम्लारीफुङ लगायत दर्जनौं चलचित्र लेखेका छन् । केरुङ आगमी मंसीर ४ मा हुने निर्वाचनका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट प्रदेशसभा ‘क’ पाँचथरको उम्मेदवार बनेका छन् ।

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई रहेका छन् । यस्तै, चलचित्रको मुख्य सहायक निर्देशक दिपक अधिकारी, नृत्य निर्देशक सुस्मा योन्जन, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, शब्द/संगीत आशाहाङ आङ्बोको रहेको छ भने मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ ।
चलचित्रमा आशाहाङ आङ्बो, बिमला खजुम, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साराहाङमा पन्धाक, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, चन्द्रकला सांवा लगायतको भूमिका रहनेछ भने चलचित्र आगामी कक्फेवा तङ्नाम (माघे संक्रान्ति) सम्ममा प्रदर्शनमा आउने निर्देशक सुब्बाले जानकारी दिए ।