काठमाडौं- चिनी मिलले उखु खरिद गरेको रकम नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका किसान नारायण राय यादवको हृदयाघातका कारण निधन भएको छ। काठमाडौंको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा यादवको निधन भएको हो।
यादव भगत अन्नपूर्ण सुगर मिलले बक्यौता नदिएपछि आन्दोलनका लागि काठमाडौं आएका थिए। मिलले उनलाई २४ लाख ६३ हजार रूपैयाँ तिर्न बाँकी थियो।
उखु किसानलाई चिनी उद्योगीले बक्यौता रकम २१ दिनभित्र दिने समझदारी गरेका थिए। सरकारको रोहवरमा भएको सम्झौताप्रति यादव सन्तुष्ट नरहेका उनीसँगै काठमाडौं आएका किसानले बताएका छन्।
चिनी उद्योगले पैसा नदिएपछि उनले सहकारीबाट समेत ऋण लिएका थिए। उनले १८ लाख रूपैयाँ ऋण तिर्न बाँकी छ।