काठमाडाैं । न्युजिल्यान्डले टी – २० विश्वकपमा विजयी सुरुवात गरेको छ। शनिबार सिड्नीमा भएको सुपर १२ को पहिलो खेलमा साविक च्याम्पियन अस्ट्रेलियालाई ८९ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
समुह १ को यो खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गमाएर २ सय रन बनाएको थियो। जवाफमा अस्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटिएपछि न्युजिल्यान्डले प्रभावशाली जित निकालेको थियो।
साविक उपविजेता न्युजिल्यान्डले पहिलो ब्याटिङ गर्दै सानदार स्कोर तयार पार्ने क्रममा उसका ओपनर डेभन कनवे ९२ रनको अविजित योगदान दिए।
उनले ५८ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। उनलाई ओपनर फिन एलेनले पहिलो विकेटका लागि ४२ रन बनाएर साथ दिएका थिए।
त्यस्तै जेम्स निसम २६ रनमा अविजित रहँदा ग्लेन फ्लिप्स १२ रन बनाएर आउट भए कप्तान केन विलियमसनले २३ रन बनाएका थिए।
२ सय १ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोलीका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। उसका लागि ग्लेन म्याक्सवेलले २८ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो।
त्यस्तै प्याट कमिन्सले २१ रन बनाउँदा मिचेल मार्सले १६ र कप्तान एरोन फिन्चले १३ रन बनाएका थिए। अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा टिम साउदी र मिचले स्यान्टनरले समान ३/३ विकेट लिए। त्यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिँदा लोकी फर्गुसन र इस सोधीले समान १/१ विकेट लिएका थिए।