November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कालोबजारी नियन्त्रण गर्न उपभोक्ता आफैं सचेत हुनुपर्नेमा विज्ञहरुको जोड

2K

काडमाडौं । दैनिक उपभोग्य बजारमा हुने कुनैपनि किसिमका अनियमितता, ठगी र अगाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफै सचेत हुनुपर्ने विज्ञ एवम् सरोकारवालाले जोड दिएका छन् ।

उपभोक्ता जागरण अभियानको प्रथम साधारण सभाका वक्ताहरुले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने बताए ।

दसैँ, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी नियकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरुको सुझाव छ ।

Advertisement

कार्यक्रममा पूर्व सचिव कृष्णहरि बास्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले बजारमा बढ्दो अनियमितता र कालोबजारी नियन्त्रण गर्न उपभोक्ता सचेत र जागरुक बन्नुपर्ने बताए ।

पूर्वसचिव बास्कोटाले भने,“बजारमा दण्डहीनताको अवस्था बढेको छ । यसको मारमा उपभोक्ता छन् त्यसैले संविधानले सुनिश्चित गरेको उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ ।” उनले उपभोक्ताले बजारमा वस्तु तथा सामग्री खरिद गर्दा उत्पादन मीति, मूल्यसुचीलगायत विषयमा सचेत हुनुपर्ने बताए ।

पूर्वसचिव डा.हरि दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी नियकाले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाईवर्षेभरी सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए । वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागि परेको बताउँदै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्छ भने ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हक हित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवम् संस्थाहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए । कृषि बाली व्यवसाय प्रवद्र्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियानता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र बिक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मीहरु लाग्नुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफै सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए ।

भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति

साधारण सभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईको प्रतिवेदन पारित गरेको थियो । यस्तै साधरण सभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमिति समेत चयन भएको छ । मञ्चको उपाध्यक्षहरुमा सुशीला कुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणी पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सह–सचिवमा बद्री विशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाइँ तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल रहेका छन् ।