न्युयाेर्क । अमेरिकी विदेश मन्त्रालयले डिभी २०२४ को औपचारिक घोषणा गरेको छ, जस अनुशार अक्टोबर ५ देखि डिभी लोटरी भर्न सकिने छ । डिभी लोटरी २०२४ का लागि अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म अनलाइनमार्फत दर्ता गर्न सकिने विदेश मन्त्रालयले जनाएको छ ।
न्युयोर्क समय अनुशार अक्टोबर ५ मध्यान्ह १२ बजेदेखि नोभेम्बर ८ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने छ । तर डिभी लोटरी भर्दा एउटा भन्दा धेरै आवेदन दिएको खण्डमा सबै आवेदन अस्वीकार गरिनेमा विदेश मन्त्रालयले यसपटक विशेष जोड दिएको छ ।
डिभीमा दर्ताका लागि अन्तिम अवधिसम्म नकुर्न सुझाव दिइएको छ । एकजनालाई एउटामात्र आवेदन दिने कानूनी अनुमति भएकाले एउटाभन्दा बढी आवेदन दिएमा सबै आवेदन अस्वीकृत हुने र धेरै आवेदन पत्ता लगाउन परिष्कृत प्रविधि जडान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
डिभी २०२४ का विजेताहरुले सन् २०२४ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२३ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन ।
यसपटक डिभीका लागि बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिकन रिपब्लिक, एल साल्भाडोर, हाइटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, उत्तरी आयरल्याण्ड बाहेक यूके र यसका आश्रित क्षेत्रहरू, भेनेजुएला र भियतनाम योग्य हुनेछैनन् । तर मकाउ र ताइवानका बासिन्दाहरु भने योग्य हुनेछन् ।