काठमाडौं । स्विडेनको स्टकहोममा गैर आवसीय नेपाली संघ(एनआरएनए)को १४औं यूरोप क्षेत्रिय भेला शुरु भएको छ । सेप्टेम्बर २४ र २५ चल्ने सम्मेलनको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल र एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उदघाटन सत्रमा बोल्दै बक्ताहरुले युरोपमा रहेका सबै नेपालीहरुलाई त्यहाँ आर्जन गरेको समृद्धि नेपाल भित्र्याउन तथा युरोपका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानीका लागि प्रेरित गर्न आग्रह गरेका छन् । कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरे ।
नेपालमा लगानीको वातावरण नभएको भन्ने गलत सूचना चिर्नुपर्ने उल्लेख गर्दै ढकालले नेपालका लगानीको उचित समय रहेकाले नेपालमा लगानीका लागि आग्रह गरे । एनआरएनए अध्यक्ष कुल आचार्यले आफूहरुको आग्रहमा नेपाल सरकारले एनआरएनएका मुद्दाहरुलाई केही हदसम्म सम्बोधन गरेको बताए । सरकारले डलर एकाउन्टका लागि अनुमाति दिइसकेको र अब मताधिकारको बारेमा पनि छलफल चलिरहेको जानकारी दिए ।
एनआरएनए युरोप संयोजक सन्तोस भट्टराईले संस्थाको विधान शंसोधन गरेर भावी दिनमा चुस्त कार्यसमितिको परिकल्पना गर्नुपर्ने बताए । सम्मेलनको पहिलो दिन संस्थामा युवाहरुको सहभागिताका विषयमा बहस भएको छ । आयोजना समितिका अध्यक्ष चिन्तामणी सापकोटाका अनुसार पहिलो दिन उदघाटन सत्र र विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । दोस्रो दिन विदेशमा रहेका नेपालीहरुलाई नेपाली नागरिकता, मताधिकार र नेपालमा लगानी भित्र्याउनेलगायतका विषयमा गम्भीर बहस हुने अध्यक्ष सापकोटाले जानकारी दिए ।
‘पार्टनरसीप इन एक्सन फर ट्रन्सफरमेसन’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा हरेक सत्रमा युवा र महिलाको सक्रिय भूमिका खोजिने भएको छ ।

