November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाली चलचित्र ‘प्रेमगीत ३’ विश्वभर रिलिज

2.1K

काठमाडौं । सन्तोष सेनले निर्माण गरेको नेपाली चलचित्र ‘प्रेमगीत ३’ आज शुक्रबारदेखि विश्वभर रिलिज हुँदैछ । नेपाली फिल्म पहिलो पटक विश्व बजारमा प्रवेश पाएको हो ।

विश्वका १२ सय हलमा एकै दिन फिल्म रिलिज हुँदैछ । फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो ।

हिन्दी भाषामा डब गरिएको पहिलो नेपाली फिल्म भारत, युएइ, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजी, जापान, दक्षिण कोरियालगायत देशका हलहरुमा रिजिल हुने बलिउड हङ्गामाले जनाएको छ ।

Advertisement

तर, नेपालमा भने घटस्थापनाबाट मात्र हिन्दी डब लाग्नेछ । निर्माण कम्पनीले चलचित्र विकास बोर्डमा कर चुक्ताको कागजात पेश नगरेकाले फिल्मको हिन्दी डबको सेन्सर रोकिएको भएपनि प्रक्रिया अघि बढीसकेको छ ।

नेपाल फिल्मलाई भारतीय वितरकहरुले पहिलो पटक विश्वबजारमा पुर्याएका हुन् । उनीहरुले यसलाई पहिलो इण्डो–नेपाली फिल्म पनि भनेका छन् ।

फिल्मको गीतले पहिलेदेखि नै बजार पिटेको छ भने यसका पोस्टर, टिजर र ट्रेलर पनि निकै रुचाइएका छन् ।

भारतका पाँच सय हलमा फिल्म रिलिज भएको छ भने नेपालमा दुई सय हलमा लागेको छ । भारतमा पहिलो दिन ७५ प्रतिशत टिकट पहिल्यै विक्री भएको पनि बलिउड हङ्गामाले जनाएको छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।

‘प्रेमगीत ३’ बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् । फिल्मको कथा मन्दीप गौतम र छेतेन गुरुङले संयुक्त रुपमा लेखेका हुन ।

११ करोड रुपैयाँमा बनेको यस फिल्मले पहिलो दिन नै साढे पाँच करोड भारुको ब्यापार गर्ने अनुमान वितरकको छ । नेपालमा पनि फिल्मको अग्रिम टिकट बुकिङले फिल्म हलहरु फुल भइसेका छन् ।