विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १ नम्बर प्रदेश सरकारले मोटरसाइकल हस्तान्तरण गरेको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई बजाज कम्पनीको ६ वटा डोमिनार मोटर साईकल हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश सरकारबाट प्राप्त भएको ६ वटा मोटरसाइकल प्रदेश प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनिकरण तथा भिआईपिहरुको स्कर्टिङको लागि प्रयोग गरिने बताए ।
प्रदेश सरकारबाट प्राप्त भएको उक्त मोटरसाइकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीलाई उपलब्ध गराएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणका भावी योजनाहरु समेतको प्रस्तुतिकरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
