November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

आत्महत्या विरुद्ध सचेतना फैलाउन सके आत्महत्या घटना दरमा कमी आउँछ: प्रजिअ, झापा

1.9K

दमक । समाजमा रहेका सरोकारवाला पक्षले आत्महत्या विरुद्ध आफनो जिम्मेवारीको पहिचान गरी सचेतना फैलाउन सके आत्महत्या घटना दरमा कमी आउने झापामा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।

इलाका प्रहरी कार्यालयले आज दमकमा आयोजना गरेको आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रमलाई सम्वोधन गर्दै कानून बनाएको छ भनेर मात्र आत्महत्याको घटनामा न्यूनिकरण नहुने बताएका हुन् । झापामा यसको उच्चदर रहेको हुँदा यसलाई घटाउदै लैजान स्थानिय सरकार, स्थानिय संघ संस्था सबैले योजना कार्यक्रममा राख्नुपर्ने रिजालले बताए ।

आत्महत्या बढ्नुको कारणमा धेरै कारणहरु रहे पनि आर्थिक समस्या पनि एउटा ठूलो कारण रहेको यस घटनाको शिकार आर्थिक, सामाजिक रुपले पछाडी पारिएका दलित, सिमान्तकृत लगायतका समुदाय बढी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् । दमक नगरपालिकाका प्रमुख राम थापाले यसको बढदो उच्च दरलाई घटाउन स्थानिय सरकार सहितका सबै पक्षको सहकार्य हुनुपर्ने बताए ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक तथा कार्यालय प्रमुख विश्वमणी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख रेगिना भटराई प्रसाईले आत्महत्याका घटना न्युनिकरण गर्न गाउँ, टोलसम्म अभियान सन्देशहरु चलाउनुपर्ने बताए ।

झापाका प्रहरी प्रमुख पोखरेलले प्रहरी कार्यालय जिल्लाको तथ्याङ हेर्दा पालिका स्तरमा सबै भन्दा बढी आत्महत्या हुने मेची नगर पालिका, दमक पाँचौ तहमा रहेको बताए । जसले निरासाका कुरा गर्दछ, एकान्तमा बस्न मन पराउछ भने त्यस्ता व्यक्तिलाई एक्लै छोडन नहुने समुहमा राख्नुपर्ने प्रमुख पोखरेलले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरीले कार्यक्रममा झापामा आत्महत्याको अवस्था, आत्महत्या गर्ने तरिका, उनीहरुले आत्महत्या गर्नको कारण, व्यक्तिले आत्महत्या गर्नु अघि देखिने संकेत आदि विषयमा सहजीकरण गरेका थिए ।

स्थानिय सामाजिक संघ संस्था, स्काउट, एन.सी.सी., विधार्थी लगायतको सचेतना रयाली दमक नगरपालिका प्राङणबाट भेला भएर दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा आएर कार्यक्रममा परिणत भएको प्रहरी निरिक्षक देवानन्द मिश्रले जानकारी दिए ।