November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

महासंघ टोलीसँग राष्ट्रिपतिले भनिन्- आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार-निजी क्षेत्र सहकार्य आवश्यक

2.8K

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भटेको छ। टोलीले आइतबार राष्ट्रपति भवन शितलनिवासमा भेटवार्ता गरेको हो। 

सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि शुभकामना दिएकी थिइन्। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलालहिराचन सहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपति निवास पुगेको थियो। 

महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्य सहितको भिजन पेपर तयारीमा लागेको जानकारी राष्ट्रपतिलाई गराएको थियो। सो अवसरमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा पनि जोड दिए। 

Advertisement

साना मझौला व्यवसाय चल्न सके भने ठूला उद्योग स्वत चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको बताए। साथै उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराए।   

लाखौं युवाहरू वेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक ४ लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसँग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपतिलाई जानकारी गराए।