विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङले विराटनगर आँखा अस्पतालले सस्तो मुल्यमा गुणस्तरिय सेवा प्रदान गरी तारिफयोग्य काम गरेकोमा बधाई तथा शुभकामना दिएका छन् । विराटनगर आँखा अस्पतालको सोह्रौं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुखले यस्तो भनेका हुन् । “यस्ता अस्पतालको कार्यलाई सरकारले पहिचान गर्नुपर्ने र प्रदेश प्रमुखको हैसियतले सक्दो पहल गर्नेछु ।” प्रदेश प्रमुखको थप भनाई थियो ।

विराटनगर १३, अतिथिमार्ग रानीस्थीत विराटनगर आँखा अस्पतालको प्रांगणमा विभिन्न कार्यक्रमसहित सोह्रौ वार्षिकोत्सव मनाइएको थियो ।
नेपाल नेत्रज्योती संघको पूर्वाञ्चल आँखा उपचार कार्यक्रमसँग आवद्ध रहेको विराटनगर आँखा अस्पतालको १६ औं वर्षिकोत्सव कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता माननीय पद्मनारायण चौधरीले गरेका थिए भने नेपाल नेत्रज्योती संघका महासचिव भरत चन्द, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारलगायत विशिष्ट अतिथि तथा अतिथिको रुपमा रहेका थिए ।

