विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले बालुवाटारमा बालुवा पेलेका पेल्यै भएपनि तेल ननिस्केको बताए । शनिबार विराटनगरमा आयोजित पेशागत महासङ्घको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बालुवा पेलेका पेल्यै गर्दा पनि बालुवाबाट तेल ननिस्किएको हुँदा अझैं पेल्नुपर्ने बताएका हुन् ।
नेपाली काँग्रेसका कारण सिट बाँडफाँड टुङ्गो नलागेको बताउँदै अध्यक्ष नेपालले काँग्रेसले अस्वभाविक दाबी गरेका कारण गठबन्धनमा सिट बाँडफाँड टुंगो नलागेको पनि बताए । ‘हामीले छलफल चलाइरहेका छौ, तर काँग्रेस, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरू बाँड भन्छ । हामीले उनीहरूलाई जवाफ दिएका छौं, हैसियत भन्दा बढी माग्ने काम नगर ।’, नेपालले भने ।
२०७४ सालमा २३ सिट मात्र जितेको काँग्रेसलाई त्यसको तीन गुणासम्म दिन सक्ने उनले बताए । अध्यक्ष नेपालले भने, ‘हामी २३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट भन्दै छौं, उनीहरु सय भन्दैछन् मिलाउन गाह्रो छ ।’
सहमतिको प्रयास जारी रहेको बताउँदै अध्यक्ष नेपालले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने पनि बताए । समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै नेपालले भने ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’
