काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङको खुलेर प्रशंसा गरेका छन् ।
शुक्रबार धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदानमा सरिक हुँदै प्रचण्डले साम्पाङको श्रमलाई खुलेर प्रशंसा गरेका हुन् ।
उनले साम्पाङ्बाट धेरै प्रेरणा लिन सकिने बताए । उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा लिन सक्ने प्रचण्डको भनाई छ। ‘हर्कले कम्युनिष्ट पार्टी अझ भनौं माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरुले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने।
जनतासँग सधैं जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाव दिंदै भने,‘ जनतासँग जोडिएर काम गर्नुस्। सधैँ जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ उनले अगाडी भने,‘ उहाँको कामलाई सिंगै देशले बढो गम्भीरतापूर्वक हेरेको छ । म के भन्न चाहन्छु भने हामी कम्युनिष्टहरूले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नुभएको छ । म पार्टीका साथीहरू र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहार र उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहन्छु ।’
मेयर साम्पाङको आव्हानमा साप्ताहिकरूपमा हरेक शुक्रबार वृक्षारोपण हुँदै आएको छ । केही दिनअघि काठमाडौं आएका मेयर साम्पाङले श्रमदानका लागि धरान आउन प्रचण्डलाई भेटेरै निम्तो दिएका थिए । सोही सिलसिलामा जेवी टुहुरेको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रचण्ड सरिक भएका हुन् ।