November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एकीकृत समाजवादी काभ्रेको अध्यक्षमा बसुन्धरा हुमागाईँ

2.5K

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेको पाँचौ जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले जिल्लाको पदाधिकारी पुनर्गठन गरेको छ ।

पुनर्गठित पदाधिकारीहरूमा अध्यक्ष बसुन्धरा हुमागाईं, उपाध्यक्ष दीपक कुमार गौतम, सचिव गोकुल गौतम, सहसचिव यसु लामा चयन भएका छन् ।

यसैगरी बैठकले मंसिर ४ को निर्वाचनलाई लक्षित गरी उम्मेदवार सिफारिस गर्न सक्ने गरी संघीय क्षेत्र १ मा संयोजक लाप्साङ पाख्रिन र सचिव गोकुल गौतम, संघीय क्षेत्र १ को प्रदेश क. मा संयोजक पासाङ डोल्मो लामा र सचिव ज्ञानेन्द्र लामा, प्रदेश ख. मा संयोजक कृष्ण तामाङ र सचिव विश्वेश्वर बञ्जारा तोकिएको छ भने संघीय क्षेत्र नं. २ मा संयोजक सचितानन्द के.सी. र सचिव प्राणनाथ न्यौपाने, प्रदेश क। संयोजक हरिगोपाल प्रधानाङ्ग र सचिव नारायणप्रसाद ढकाल, प्रदेश ख. मा संयोजक प्रेम लामा र सचिव हरिबहादुर डोटेललाई तोकेको छ ।

Advertisement

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटी उपाध्यक्ष विदुर सापकोटाले काभ्रेको पाँचौं जिल्ला कमिटी बैठकमा सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले बजारमा चलेको हल्ला जस्तो माओवादीसँग नहुने बताए । तर साना कम्युनिष्ट पार्टीहरूसँग भने एकता र सहकार्य हुन सक्ने, त्यो पनि अहिले चुनावलाई लक्षित गरेर नभइ दीर्घकालीन एकताका लागि हुन सक्ने बताए ।
उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘चुनावमा एक्लै जाने मनसाय राखेर सङ्गठन विस्तारमा लाग्नु जरुरी छ ।’

यस्तै, प्रदेश सांसद लक्ष्मण लम्सालले कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन् । स्थानीय निर्वाचनपछि धेरै कार्यकर्ताहरूमा नैराश्यता उत्पन्न भएको भन्दै पार्टीले सोचेजस्तो प्रतिफल पाउन नसक्नु यसको मुख्य कारण रहेको उनको भनाइ थियो । ‘यसबाट कोही पनि डराउनु पर्दैन । हामी सङ्घर्षकै चरणमा छौं । हामीलाई कसैले दबाउन र गिराउन सक्तैन । नेताहरु मैदानबाट भागेर कार्यकर्तालाई विचलित पार्ने छैनन् । सङ्घर्षको समयमा विचलित नभई पदको लोभ नगरी पार्टीलाई सङ्गठित बनाउँदै लैजाने हो भने आगामी दिनमा भविष्य सुनिश्चित छ ।’, उनले भने ।

अर्का नेता मुकुन्द गौतमले स्थानीय तहको निर्वाचन फेरि एकपटक समीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘छोटो समयमा निर्माण भएको पार्टी भएकाले सबैले एकैचोटी अवसर पाउँछन् भन्ने छैन, विचार र सिद्धान्तमा अडिग भएर निरन्तर लाग्ने हो भने निश्चित बिन्दुमा पुगिने छ । इमान्दार भएर पार्टीमा लागिरहँदा एकदिन उचित मूल्यांकन हुन्छ ।’, उनले भने ।

यस्तै, जिसस प्रमुख तथा जिल्ला सचिव दीपककुमार गौतमले स्थानिय निर्वाचनपछि एमालेहरु समाजवादीसँग डराएको बताए ।

कार्यक्रममा नेता तथा प्रदेश मन्त्री बसुन्धरा हुमागाईंले स्वागत मन्तव्य राखेका थिए भने कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले संक्षिप्त आय व्यय विवरण प्रस्तुत गरेका थिए ।