पोखरा । कास्कीमा आजदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिताको पुरस्कार राशी सर्वाधिक रहेको छ।
तीन दिनसम्म पोखरामा हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ६ लाख, द्वितीय हुनेले चार लाख, तृतीय हुनेले दुई लाख तथा सान्त्वना हुने समूहले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई ५० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
एक समूहमा महिला र पुरुष एक/एक गरी दुई जना रहने र समूहको वाद्यवादनलगायत टोलीको व्यवस्था आयोजकले नै गनुपर्ने छ । लोकगायक, स्रष्टा र शिल्पी कल्याण शेरचनको स्मरणमा उनको जन्मजयन्तीका अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ‘ह्योल्मो’ले बताए ।