काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले उनीसँग बयान लिन सुरु गरेको छ। हिजै लिने भनिएको बयान शर्माले नभ्याउने भनेपछि आज बिहानका लागि सारिएको थियो। बयानका लागि पूर्वमन्त्री शर्मा संसद सचिवालय सिंहदरबार पुगेका छन्।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
समितिको कार्यादेश आज सकिँदै छ। दशौँ दिन अर्थात् अन्तिम दिन मात्रै समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिन लागेको हो। समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ।
समितिले तोकिएको समय अवधिमा काम नसक्ने भएपछि समय थप गर्ने तयारी छ। हिजो समितिले पूर्व अर्थ सचिवहरूसँग छलफल गर्ने भने पनि एक जना शिशिरकुमार ढुङ्गाना मात्र सहभागी भएका थिए। त्यस्तै बजेटको बारेमा लेख्ने अन्नपुर्ण पोस्टका दुई पत्रकारसँग पनि समितिले हिजै छलफल गरेको थियो।
समितिले जेठ १४ र १५ गतेको मन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिक्स रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको माध्यमबाट डिलिट भएको फुटेज पनि रिकभर हुनसक्ने राय दिएको छ।
तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ।
यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए।