काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भाेलि बिहान उनीसँग बयान लिने भएकाे छ। समितिकाे कार्यादेश भोलि सकिँदै छ।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
समिति गठन भएको ६ दिनपछि असार २८ गते मंगलबारबाट समितिले काम थालेको थियो। भोलि समितिले छानबिन थालेको दश दिन पुग्दैछ। दशौँ दिन अर्थात् अन्तिम दिन मात्रै समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदैछ।
आज लिने भनिएकाे बयान उनले नभ्याउने भएपछि भोलि बिहान साढे ८ बजेका लागि सारिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
आज समितिले पूर्व अर्थसचिवहरुसँग छलफल गर्ने भने पनि एक जना शिशिरकुमार ढुङ्गाना मात्र आएका थिए।
समितिले जेठ १४ र १५ गतेको मन्त्रालयको सिसिटीभी फुटेजको हार्डडिक्स रिकभरका लागि आज बिहान नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञले सफ्टवेयरको माध्यमबाट डिलिट भएको फुटेज पनि रिकभर हुनसक्ने राय दिएपछि समिति त्यसतर्फ अघि बढेको हो।
यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ।
अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
छानबिन समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन्।
समिति सदस्य पुष्पा भुसाल उपसभामुख बनेपछि कांग्रेसका अर्का सांसद मानबहादुर विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।