November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बलात्कारको आरोप लागेका क्याम्पस प्रमुख प्रहरी नियन्त्रणमा

2.4K

बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी प्रहरी नियन्त्रणमा रहेका छन्।

कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ। यही असार २० गते पानी माग्ने निहुँमा नेगीले महिलाको बलात्कार गरेको आरोप लागेको हो।

आरोप लागेपछि नेगी आज आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन्। नियन्त्रणमा रहेका नेगीमाथि थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। नेगीविरुद्ध गत हप्ता जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।

Advertisement

आफूमाथि जबरजस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा मुद्दा दर्ता गराएकी थिइन्। आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले यसअघि असार २७ गते राजीनामा दिएका थिए। उनले झुट्टा आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएकाले अनुसन्धानमा प्रहरीलाई सघाउन आफैँ गिरफ्तारी दिएको बताएका छन्।

उनले  विज्ञप्ति जारी गरेर व्यक्तिगत प्रतिष्ठा र मर्यादामाथि प्रहार हुने किसिमले आरोप प्रत्यारोप एवं चरित्र हत्या गर्ने सुनियोजित तरिकाले फसाउन खोजिएपछि घट्नाको अनुसन्धान प्रक्रियामा सघाउन गिरफ्तारी दिएको बताएका छन्। उनले घटनाको  सत्यतथ्य छानबिन हुनुपर्ने समेत माग गरेका छन्।