November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

अत्यधिक गर्मीले बेलायतमा राष्ट्रिय संकटकाल, सोमबार र मंगलबार जोखिमपूर्ण, स्पेनमा २३७ को मृत्यु

5.3K

लन्डन । बेलायतमा राष्ट्रिय गम्भीर मौसम चेतावनी सेवाले अत्यधिक गर्मीको रेड अलर्ट जारी गरेपछि राष्ट्रिय संकटकालको घोषणा गरिएको छ ।  सोमबार वा मंगलबार इङ्गल्याण्डको धेरैजसो भागमा तापक्रम १०४ डिग्री फरेनहाइट (४० डिग्री सेल्सियस) सम्म पुग्ने अनुमान गरिएको छ ।

बेलायती अधिकारीहरूले सोमबार र मंगलबार हुने अपेक्षा गरिएको अत्याधिक गर्मी अगाडी सुरक्षाका लागि सुझावहरु दिइरहेका छन् । उनीहरुले हाइड्रेसन कायम राख्ने, घरभित्र चिसो राख्ने, घाममा नजाने लगायतका सल्लाह दिएका छन् ।

चलिरहेको तातो लहरले जंगली आगोलाई पनि बढाइरहेको छ । जसका कारण पश्चिम युरोपमा गर्मीमा नयाँ रेकर्ड कायम भइरहेको छ भने गर्मी सम्बन्धी मृत्युका घटनाहरु भएका छन् । सामान्यतया मध्यम गर्मीको लागि चिनिने दक्षिणी बेलायतमा तापमान १०४ डिग्री फरेनहाइट सम्म पुग्ने पूर्वानुमान यस क्षेत्रमा पहिलो पटक गरिएको हो।

Advertisement

गर्मीले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउने भएकाले मानिसहरूले गर्मी सम्बन्धी रोगबाट बच्न थप सावधानी अपनाउनुपर्ने हुन्छ। बेलायतमा, केहीमात्र घरहरू, अपार्टमेन्टहरू, विद्यालयहरू वा साना व्यवसायहरूमा एयरकण्डिशन रहेकाले बासिन्दाहरूलाई विशेष गरी कमजोर बनाउने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

पोर्चुगल, स्पेन र फ्रान्समा जङ्गलमा लागेको आगलागीसँगै अत्यधिक गर्मीले वातावरण र घरहरू पनि जोखिममा पारिरहेको छ। लन्डनमा सबेवे ट्रेनमा यात्रुहरूलाई सोमबार र मंगलबार यात्रा नगर्न सल्लाह दिइएको छ । किनभने गर्मीले रेलहरूलाई असर गर्ने र ढिलाइ हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

स्पेनमा यस महिना उच्च तापक्रमका कारण २३७ जनाको मृत्यु भएको भइसकेको छ । जुलाई १० देखि १४ को बीचमा उनीहरुको मृत्यु भएको हो । गर्मीले धेरै देशहरूमा जंगली आगो बढाएको छ । फ्रान्समा अग्नी नियन्त्रकहरूले लगातार बोर्डो क्षेत्रको जंगलमा लागेको आगो निभाउन प्रयास गरिरहेका छन् ।