November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

२ केन्द्रीय सदस्यसहित ६९ जनाद्धारा जसपा पार्टी परित्याग

2.2K

वीरगञ्ज । पर्साबाट जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी नेतृत्वलाई विभिन्न आरोप लगाउँदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी एकलौटी ढंगबाट संचालन भएको, स्वच्छाचारिता बढेको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको उनीहरुले आरोप लगाएका छन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य वीरेन्द्र यादव र टेकबहादुर शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद, जिल्ला सदस्य एवं जगरथापुर गाउँपालिका अध्यक्षका उम्मेदवार कृष्ण मोहन यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का अध्यक्ष लालबाबु साह, जिराभावानी गाउँपालिका संयोजक राजबली यादव, ठोरी गाउँपालिका संयोजक रामबहादुर पाख्रिन लगायत रहेका छन् । उनीहरुल्े सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

Advertisement

उनीहरूले केही दिन अघि नै पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गर्ने तयारी गरेका थिए । तर वन मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पार्टीको केन्द्रीय समिति बैठक अघि पार्टी छोड्दा सन्देश राम्रो नजाने भन्दै रोकेका थिए ।