November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माल्दिभ्स भागेका श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षे अब सिंगापुर जाने

2.2K

एजेन्सी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षेे माल्दिभ्सबाट सिंगापुर जाने भएका छन्। बुधबार बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजापाक्षे मालेमा एक दिन पनि पूरा नबसी बुधबार राती सिंगापुर जाने भएका हुन्।

आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भागेका राजापाक्षेलाई श्रीलंकाको सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा सेनाको जहाजमा उनि बिहान सबेरै कोलम्बोबाट माले पुगेका हुन्।

यसअघि उनका अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ। तत्कालीन राष्ट्रपति राजापाक्षेलाई रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिएको श्रीलंकाको सेनाले जनाएको छ।

Advertisement

सेनाले आफूखुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ। राजापाक्षेसँगै उनकी श्रीमती र दुई अंगरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन्।  

उनीहरू चारै जनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो। राजापाक्षेले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार आपतकालीन अवस्था घोषणा गरेका हुन्। सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कर्फ्यु पनि लगाइएको छ।

आज (बुधबार) राजीनामा दिन्छु भनेका राष्ट्रपति गोटवाया राजापाक्षेेले माल्दिभ्सबाटै प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्।

प्रदर्शनकारीहरूले विक्रमासिंघेको राजीनामा मागिरहेका छन्। विक्रमासिंघेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको समाचारमा जनाइएको छ। विक्रमासिंघेले दंगा मच्चाउनेलाई गिरफ्तार गर्न ठाडो आदेश पनि दिएका श्रीलंकाको डेली मिरर पत्रिकाले जनाएको छ।

राजापाक्षेे र विक्रमासिंघे दुबैले राजीनामा दिएपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरू हुने र प्रदर्शन मत्थर हुने अपेक्षा गरिएको थियो। आफूलाई  पदमै राखेर भागेका राष्ट्रपतिले नयाँ कदम चालेपछि श्रीलंकाको राजनीति थप अनिश्चिततामा फसेको छ।