November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

श्रीलंकामा जुलाई २० मा नयाँ राष्ट्रपति चयन हुने

2.5K

एजेन्सी । श्रीलंकामा आगामी जुलाई ३० मा नयाँ राष्ट्रपति चुनिने भएका छन्। सोमबार त्यहाँका सहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुंगाले जुलाई २० मा नयाँ राष्ट्रपति चुनिने जानकारी दिएका हुन्।

श्रीलंकाका राष्ट्रपति गोटबाया राजापाक्षेले पदबाट राजीनामा दिने भएसँगै नयाँ राष्ट्रपतिको चुनिने प्रक्रिया थालिने भएको हो। गोटबायाले जुलाई १३ मा राष्ट्रपति पदबाट राजीनामा भनेका छन्।

‘गोटबायाले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्ने निर्णय पार्टीका नेताहरूले गरेका हुन्,’ रानातुंगाले भने, ‘पार्टीले निर्णय गरे बमोजिम गोटबायाले राजीनामा दिएमा त्यसअनुरूप प्रक्रिया अगाडि बढ्नेछ।’

Advertisement

शनिबार फोर्टमा रहेको राष्ट्रपति भवनमा हजारौं मानिसहरूले आक्रमण गरेपछि श्रीलंकाको राजनीतिक घटनाक्रम नयाँ ढंगले विकास भएको हो। तीव्र विरोध र प्रदर्शनका बीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले भने देशको बिग्रिँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको र राजनीतिक नेतृत्व त्यसका निम्ति जिम्मेवार रहेको बताएका छन्। तीन दिनदेखि प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवासमा बसेका छन्।

केहीदिन अघिसम्म कडा सुरक्षा पहरामा रहने यी भवनमा अहिले मान्छेहरू सजिलै भित्र-बाहिर गरिरहेका छन्। कतिले त्यहीँभित्र दाउरा बालेर खाना पकाइरहेका छन्, कोही स्विमिङ पुलमा पौडिरहेका छन्। प्रदर्शनकारीहरू देशका दुई कार्यकारी बस्ने दशकौं पुराना भवनभित्र जे-जे सुविधा छन् तिनको ‘मज्जा’ लिइरहेका छन्। राष्ट्रपति र प्रधानमन्त्री निवास हेर्न मानिसहरू निकै टाढा-टाढाबाट कोलोम्बो आइरहेका छन्।